संसारकै ठूलो शरणार्थी शिविरका सल्कियो कोरोना संक्रमण - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

संसारकै ठूलो शरणार्थी शिविरका सल्कियो कोरोना संक्रमण



एजेन्सी- बङ्गलादेशस्थित रोहिंज्या शरणार्थी रहेको शिविरमा दुई व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि बिहीबार भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन्।

बङ्गलादेशस्थित शरणार्थी शिविरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो।

यो शिविर संसारको सबैभन्दा ठूलो शरणार्थी शिविर हो। यहाँ करिब १० लाखको हाराहारीमा शरणार्थीहरू रहेका बिबिसीले जनाएको छ।

भिडभाडका कारण सरसफाई नभएको शरणार्थी शिविरमा कोभिड–१९ सङ्क्रमणपछि राहिंज्या शरणार्थी रहेका स्थानहरूमा सङ्क्रमण फैलिन पुगेमा यो भयावह अवस्थामा पुग्ने भन्दै स्वास्थ्यविद्हरूले चासो व्यक्त गरेका छन्।

शिविरमा रहेका शरणार्थीमा सङ्क्रमण पुष्टि भएपछि दुबै व्यक्तिलाई एकान्तमा राख्ने व्यवस्था गरिएको, शिविरमा अन्य व्यक्तिहरूको परीक्षण तयारी गरिएको र रोकथामका उपायहरूलाई अवलम्वन गरिएको स्थानीय स्वास्थ्य संयोजक अबु भुईयानले बताए।

विश्वव्यापी कारोना भाइरसको सङ्क्रमण फैलिने क्रमसँगै बङ्गलादेशमा पनि यसबाट सङ्क्रमित व्यक्तिहरू भेटिएपछि शरणार्थी शिविरलाई स्थानीय कोक्स बजारसँगको आवागमनलाई अप्रिलदेखि नै नियन्त्रण गरिएको थियो।

क्याम्पमा हुने आवागमनले शिविर र वरपरका क्षेत्रमा सङ्क्रमण फैलिनसक्ने भन्दै शिविरमा अतिआवश्यक बाहेक भिडभाड नहोस भनी आवागमनमा कडाइ गरिएको थियो।

जसका कारण शिविर भित्र र बाहिर गर्ने व्यक्तिहरूको सङ्ख्या ८० प्रतिशतले नियन्त्रण गर्न बङ्गलादेशी अधिकारीले सहयोगी संस्थाहरूलाई आग्रह गरेका थिए।

दुई वर्ष पहिले म्यानमारको रखाइन राज्यमा अल्पसङ्ख्यक रोहिंज्या समुदायमा भड्किएको तनावपछि त्यहाँको सैनिकले बल प्रयोग गरेपछि रोहिंज्या शरणार्थीहरूको ठूलो सङ्ख्या भागेर छिमेकी राज्य बङ्गलादेशको सीमा क्षेत्रमा पुगेपछि उनीहरूलाई विभिन्न स्थानमा शिविरमा राखिएको छ।

बङ्गलादेशमा बिहीबारसम्म झण्डै १९ हजार व्यक्ति कोभिड–१९ का कारण सङ्क्रमित भएका छन् भने २८३ सङ्क्रमितको मृत्यु भएको छ।