प्रदीप ज्ञवाली भन्छन: सडक निर्माणका बारेमा हामीलाई पहिले नै थाहा थियो
काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि मिचेर सडक बनाएको विषय सरकारलाई पहिल्यैबाट जानकारी भएको बताएका छन् । ‘यो निर्माणका बारेमा सरकारलाई थाहा नहुने भन्ने कुरा नै भएन,’ प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले भने ।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले यो विषयमा औपचारिक धारणा राखिसकेको र भारतले नेपाली भुमिमा सडक बनाएको प्रति गम्भिर ध्यानाकर्षण भएको बताए ।
‘नेपाल सरकार सीमा निर्धारण सुगौली सन्धिअनुसार भएको ठान्छ, सन् १८१६ को सन्धि, पूरक सन्धि र १८६० को पूरक सन्धिका आधारमा सीमा निर्धारण गरेको हो । अर्को सन्धि भएको छैन । सन्धि, नक्सा, दस्तावेज र तथ्यका आधारमा यो समाधान गर्नुपर्छ । त्यो अनुसार लिपुलेक र लिम्पियाधुरा नेपालमा पर्छ’, मन्त्री ज्ञवालीले भने ।
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएको र यसमा केही कुरा गर्नुपर्ने भएकोले परराष्ट्रसचिव स्तरीय बैठकको लागि नेपालले पठाएको मितिलाई भारतले पनि बेवास्ता गरेको मन्त्री ज्ञवालीले बताए ।
‘हामीले प्रस्ताव गरेको मितिको भारतले औपचारिक जवाफ नै नदिइकन नेपाली भूमि प्रयोग गरेर भारतले बाटो बनाएकोमा ध्यानाकर्षण भएको छ’, उनले भने ।
विश्व नै कोरोनाको संकटसँग जुधिरहेको बेला छिमेकी देशको संवेदनशील विषयलाई ख्याल गर्न पनि भारतसँग आग्रह गरेका छन् ।