दैलेखमा प्रहरी र स्थानीयबीच झडप - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

दैलेखमा प्रहरी र स्थानीयबीच झडप



काठमाडौं- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-४ मा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ। त्यस क्रममा स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले दुई राउन्ड हवाईफायर पनि गरेको छ।

शनिबार साँझ भएको झडपमा प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ ।

सालटाकुरा नाव-साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उल्लङ्घन गरी ५०-६० स्थानीय बासिन्दा जम्मा भएको जानकारी पाएपछि प्रहरी पुगेको थियो। त्यसपछि स्थानीय बासिन्दाले एक्कासि प्रहरीलाई आक्रमण गरेको दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीको भनाइ छ।

नगरपालिकाका उपप्रमुख तारा शाहीले लकडाउन उल्लङ्घन गरी सडक खन्ने क्रममा विवाद भएपछि प्रहरीलाई बोलाउँदा घटना भएको बताएका छन्।

उनका अनुसार शनिबार दिउँसो मात्रै सहमतिका आधारमा सडक खन्ने भनेर काम गर्न आग्रह गरिएको थियो। आफूहरु दिउँसो त्यहीँ बसेको र मान्छेको भिडभाड पनि धेरै भएकाले आफूहरूले प्रहरीलाई त्यहाँ पठाएको बताए।

घटनाबारे सबै बसेर नियम कानुनअनुसार अघि बढ्ने उनको भनाइ छ।

अहिले घटनास्थलमा थप सुरक्षा बल दुल्लुबाट पठाइएको र स्थिति सामान्य भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान हुने र आवश्यक छानबिन गरी कारबाही अघि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए।

प्रदेश सरकारको २० लाख र नगरपालिकाको ५ लाख रुपैयाँबाट उपभोक्ता समितिमार्फत सडक निर्माण भइरहेको हो।