क्रिकेटमा भारतको नयाँ प्रयास: दुई वटा राष्ट्रिय टिम बनाउने
काठमाण्डौ – भारतले २ वटा राष्ट्रिय क्रिकेट टिम बनाउने भएको छ । कोरोना भाइरसका कारण क्षतिग्रस्त बनेको क्रिकेटलाई माथि उठाउनका लागि भारतले यस्तो तयारी गरेको हो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले टेस्ट र एक दिवसीय टिम बनाउने तयारी गरेको खबर भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् । बीसीसीआईले प्रस्ताव गरेको यो उपाय पारि भएमा दुई टिम बन्न सक्ने जनाइएको छ ।
यदि यस वर्षको आईपीएल क्रिकेट रद्द भएमा २८ सय करोड भारतीय रुपैयाँ नोक्सान हुने छ । अहिलेको अवस्थामा कहिले क्रिकेट शुरु हुने भन्ने अनिश्चित भएकाले नोक्सानको भरपाई गर्नका लागि २ टिम बनाउन उपयुक्त हुने बताइएको छ ।
बीसीसीआईका एक अधिकारीका अनुसार दुई टिम बनाएर स्टेकहोल्डर तथा दर्शकहरुलाई बचाउनका लागि यो उपयुक्त विकल्प हुने छ ।
यदि भारतले दुई टिम बनाएमा यस्तो गर्ने दोस्रो देश पनि बन्ने छ । यसअघि अस्ट्रेलियाले २०१७ मा यो लागू गरिसकेको छ । अस्ट्रेलियाले एडिलेडमा श्रीलंकाविरुद्ध टी-२० खेलेको थियो भने अघिल्लो दिन भारतको पुणेमा टेस्ट म्याच पनि खेलेको थियो ।
श्रीलंकाविरुद्धको टी-२० मा अस्ट्रेलियाका एरोन फिन्चले कप्तानी गरेका थिए । यता भारतमा भएको टेस्टमा स्टेभन स्मिथले कप्तानी गरेका थिए ।