६ महिना अगाडी नै सरकारलाई थाहा थियो लिपुलेकमा भारतले बनाएको सडकबारे
काठमाडौं– भारतले नेपाली भूमिबाट बनाएको सडकका बारेमा सीमावर्ती दार्चुलाका सांसदले ६ महिनाअघि नै जानकारी सार्वजनिक गरे पनि सरकारले बेवास्ता गरेको पाइएको छ। भारतले नेपाली भूमि कालापानी,लिपुलेक हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग शुक्रबार उद्घाटन गरेको हो।
भारतले नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेपछि दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र बडुले गत मंसिरमा भारतले महाकाली पारिबाट लिपुलेक पुर्याउने सडक निर्माण गरिरहेको भन्दै त्यसलाई रोक्न सरकारलाई सचेत गराएका थिए। बडुले भनेका थिए,‘हाम्रो भूमिमा प्रवेश गर्न नदिन सरकारले पहल गर्नुपर्छ।’
लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि जोगाउन सरकारको पहल पर्याप्त नभएपछि त्यही भू-भागमा भारतले सडक बनाएको छ। कूटनीतिक पहल नहुँदा भारतीय पक्षले आफ्नो कार्य निर्वाध जारी राखेको थियो।
गत नोभेम्बरमा भारतले नेपाली भूमि समेट्दै आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो। नेपाली भूमि समेटिएको नक्सा सार्वजनिक गर्न चौतर्फी दबाब दिए पनि नेपाल सरकारले प्रकाशन गरेको छैन। भूगर्वविद्, इतिहासविद्,सीमाविद् लगायतले भारतले नेपालको सीमा मिचेको तथ्य सार्वजनिक गरेका थिए।
नेपाल लाइभसँगको मंसिरको अन्तर्वार्तामा बडुले भारतले तीन महिनाभित्र कालापानी र ६ महिनाभित्र लिपुलेक पुर्याउने गरि युद्धस्तरमा सडक निर्माण गरिरहेको बताएका थिए। बडुले भनेअनुसार नै निर्धारित समयमा भारतले सडक निर्माण गरि उदघाटन गरेको छ।
लिम्पियाधुरामा २०१८ सालमा भैरव रिसालको अगुवाइमा जनगणना भएको थियो। भारतले नक्सामा पारेका क्षेत्रका जनताले करसमेत नेपालमा तिरेका थिए। नेपालमा मालपोत कर तिरेका कुटी, नाबी, गुञ्जीभन्ज्याङको भूगोल भारतमा परेको छ। ३९७ वर्ग किलोमिटर क्षेत्रफल भारतले मिचेको तथ्यबाट खुलेको छ। नेपाल लाइभले तयार पारेको समाचार