साझा पार्टीले भन्यो: अब भारतले माफी माग्नुपर्छ, लिपुलेक फिर्ता हुनुपर्छ
काठमाडौँ- साझा पार्टीले नेपाली भूमि लिपुलेकबाट भारत फर्कनुपर्ने बताएको छ । दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेर भारतले हेपाहा प्रवृत्ति देखाएको साझा पार्टीले आरोप लगाएको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै पार्टीका सह-प्रवक्ता शरदराज पाठकले धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दाबी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेको प्रतिक्रिया दिएका छन् ।
साझा पार्टीले भारत सरकारको लगातारका यस्ता कदम अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको पनि बताएको छ ।
नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक संवाद गरेर भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन पनि साझा पार्टीले आग्रह गरेको छ । नेपालले कूटनीतिक पहल नगरेका कारण पनि भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना भएको साझा पार्टीको बुझाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो भूभागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्घाटन गर्दासम्म नेपाल सरकार बेखवर रहेको देखिनु अत्यन्तै विडम्वनापूर्ण स्थिति हो।’
अतिक्रमित भूमिबाट भारत फिर्ता हुनुपर्ने भन्दै साझाले भनेको छ, ‘ भारतले सबै अतिक्रमित भूमि छोडेर जानु पर्छ, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नु पर्छ, पछिल्लो समय उसले जारी गरेको नयाँ नक्सा सच्याउनुपर्छ र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नु पर्छ भन्ने साझा पार्टीको धारणा रहेको छ।’