विदेशमा नेपालीलाई सहारा चाहियो, सरकार संवेदनशील बनोस: गोकर्ण विष्ट - Himal Post Himal Post
  • २ कार्तिक २०८१, शुक्रबार
  •      Fri Oct 18 2024
Logo

विदेशमा नेपालीलाई सहारा चाहियो, सरकार संवेदनशील बनोस: गोकर्ण विष्ट



काठमाडौं : पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विदेशमा रहेका नेपालीहरूले दुख पाएको र अलपत्र परेको बिषयमा सरकार गम्भीर नभएको बताएका छन् । कोरोना भाइरसका कारण विभिन्न देशमा खाने-बस्ने समस्याको कारण नेपालीहरूको जीवन अत्यन्त जोखिममा भएको बताउँदै विष्टले अलपत्र परेका नेपालीको उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका समेत छन्।

विष्टले शुक्रबार सामाजिक संजालमार्फत आफ्ना देशका नागरिकले सरकारको साथ खोजिरहेको बेला सरकार संवेदनशील बन्‍नुपर्ने धारणा राखेका छन्। उनले भनेका छन्,’परदेशमा रगत-पसिना बगाएर मातृभूमिको सेवा गर्ने विभिन्न देशमा रहेका नेपालीहरू अलपत्र परेका छन्। उनीहरूले उद्धार र राहतको लागि सरकारको सहारा खोजिरहेका छन्।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतासमेत रहेका विष्टले लेखेका छन्, ‘खास गरी करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, अलेखबद्ध, आममाफीमा भाग लिएका, भिजिट भिषाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका र अन्य विभिन्न कारणले समेत श्रमिकहरु समस्यामा छन्।’

विष्टले कतिपय देशमा करार सम्झौताको एकपक्षीय रूपमा रद्द गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने र जबरजस्ती देश छाड्न आदेश गर्ने जस्ता अमानविय घटनासमेत देखा परेको उल्लेख गरेका छन्। उनले भनेका छन्,

विष्टले विदेशमा अलपत्र परेकालाई उद्धार गरी नेपाल ल्याउन, स्वदेश नल्याउँदासम्म खाने-बस्ने कुराको व्यवस्था गर्न र सम्बन्धित देशलाई करार सम्झौताको अनिवार्य पालना गराउन नेपाल सरकारले अविलम्ब प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखेका छन्।

यस्तो छ विष्टले जारी गरेको अनुरोध

यति बेला वैदेशिक रोजगारीमा गएका कतिपय नेपाली श्रमिक दाजुभाई-दिदीबहिनीहरु Covid -19 को कारण जोखिममा छन् । खास गरी करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, अलेखबद्ध, आममाफीमा भाग लिएका, Visit-Visa को म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका र अन्य विभिन्न कारणले समेत श्रमिकहरु समस्यामा छन् । कतिपय देशमा करार सम्झौताको एकपक्षीय रूपमा रद्द गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने र जबरजस्ती देश छाड्न आदेश गर्ने जस्ता अमानविय घटनाहरू समेत देखा परेका छन् । विभिन्न देशमा खाने-बस्ने समस्याको कारण नेपालीहरूको जीवन अत्यन्त जोखिममा परेको छ । परदेशमा रगत-पसिना बगाएर मातृभूमिको सेवा गर्ने विभिन्न देशमा रहेका नेपालीहरू अलपत्र परेका छन् । उनीहरूले उद्धार र राहतको लागि सरकारको सहारा खोजिरहेका छन् । यस्तो अवस्थामा उनीहरूको उद्धार गरी नेपाल ल्याउन, स्वदेश नल्याउँदासम्म खाने-बस्ने कुराको व्यवस्था गर्न र सम्बन्धित देशलाई करार सम्झौताको अनिवार्य पालना गराउन नेपाल सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् । नेपालीहरूको समस्या प्रति सरकार संवेदनशील बनोस् ।