महामारीका बीच भारतमा अर्को आफत: आठ जनाको ज्यान गयो, सयौँ अस्पतालमा - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

महामारीका बीच भारतमा अर्को आफत: आठ जनाको ज्यान गयो, सयौँ अस्पतालमा



बीबीसी– भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा आठ जनाको ज्यान गएको छ।

विशाखापटनमका पुलिस कमिश्नर आरके मीनाका अनुसार तीन जनाको घटनास्थलमा र पाँच जनाको उपचारका क्रममा किंग जर्ज अस्पतालमा मृत्यु भएको हो।

बिहान तीन बजे सुरु भएको ग्यास लिकको कारण अहिलेसम्म पत्ता लागेको छैन। प्लान्ट व्यवस्थापनविरुद्ध प्रहरीसमक्ष उजुरी दर्ता गरिएको छ।

प्रहरीले आसपासका पाँच गाउँ खाली गरेका छ। उनीहरूलाई सुरक्षित स्थानमा राखिएको बताइएको छ।

यसअघि आसपासका स्थानीयले आँखामा जलन र श्वासप्रश्वासमा समस्या भएको गुनासो गरेका थिए। यसबाट खासगरी ज्येष्ठ नागरिक र बालबालिका समस्यामा थिए।

उक्त केमिकल प्लान्ट एलजी पलिमर्स इन्डिया प्रालिको हो।

जिल्ला अधिकारी विनय चान्दले घटनाबाट दुई सय जना बिरामी भएको जानकारी दिए। उनीहरूलाई उपचारका लागि पठाइएको जिल्ला अधिकारी चान्दको भनाइ छ।

उनले भने, “ग्यास लिक रोक्न सुरुवाती प्रयासमा सफलता मिलेको छैन । यसलाई नियन्त्रणमा लिन अझै दुई घन्टा लाग्नेछ ।”