थाकेको भनिएका ओली मध्यरातसम्म छलफलमा त्यसपछि शीतलनिवासमा - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

थाकेको भनिएका ओली मध्यरातसम्म छलफलमा त्यसपछि शीतलनिवासमा



काठमाडौं- प्रधानमन्त्री ओली बैठकमा थाकेको बहाना बनाएपनि भेटघाटमा भने सक्रिय रहेको खुलेको छ । त्यतिमात्र होइन उनि राति नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गरेको र राष्ट्रपति कहाँ कुराकानी पुगेको स्रोतले बताएको छ ।

नेकपाको सचिवालय बैठकमा बुधबार प्रधानमन्त्रीले आक्रोश पोखे- मलाई एक्ल्याउन खोज्ने ? सचिवालयमा बहुमत गुम्ने अवस्था सिर्जना भएसँगै र आफू हावी हुन नसक्ने अवस्था भएपछि उनी ‘थाकेँ, आराम गर्न जान्छु’ भन्दै शयनकक्षतिर लागे ।

नेता वामदेव गौतमले समूह फेर्ने संकेत दिएपछि उनको तनाव बढ्नु स्वभाविकै हो । यसअघिका बैठकमा आफू सम्पूर्णरुपमा हावी हुने अनुभव उल्टिन थालेपछि उनी बैठकमा क्रुद्ध नै देखिए । गौतमले नै अचानक ‘एक व्यक्ति एक पद’को कुरा गरौं भनेर प्रस्ताव राख्न थालेपछि ओलीको रीसको पारो थप बढेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उनले भेटमा सरकार तलमाथि नहुने भन्दै नआत्तिन आफ्ना समर्थकहरुलाई भनिरहेको पनि बताइएको छ । स्थायी समितिको बैठकका लागि भन्दै नेकपाका नेताहरु रातारात काठमाडौं भित्रिएका छन् ।

प्रधानमन्त्रीले आफ्ना विश्वासिला पात्रहरुलाई बोलाएर परामर्श लिने काम गरिरहेका छन् । समीकरण आफ्नो पक्षमा नभएसम्म स्थायी समिति बैठक नबोलाउने ओली पक्षको तयारी छ ।

उनले बुधबारको सचिवालय बैठकमै स्थायी समिति बैठक रोक्नुपर्ने धारणा राखेका थिए ।

उता अर्का अध्यक्ष प्रचण्ड ओली सहमत नभई आफूले बैठक नबोलाउने पक्षमा छन् । आफ्नो समूहका स्थायी समिति सदस्यहरुले बैठक बोलाउन कर गरिरहेका छन् । तर उनको मत छ, ‘बस्न त बसौँला, तर जे निर्णय गरे पनि,जति गुनासोहरु पोखे पनि सुन्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने पक्ष नभएको बैठकको के अर्थ हुन्छ र ?’

माधव नेपाल समूहका नेताहरु पनि ओली असहमत भए पनि बैठक बोलाउनै पर्ने पक्षमा छन् ।

ओलीलाई अर्का सचिवालय सदस्य बादलले भने साथ दिने सम्भावना बढेको छ । उनी खुमलटार पुगेर ‘आफैं गृहमन्त्री छु, प्रधानमन्त्रीको राजीनामा कसरी माग्नु’ भने पनि बुधबार सचिवालय बैठकअघि आफ्नो समूहका नेताहरुलाई मन्त्रालयमै बोलाएर प्रधानमन्त्रीले राजीनामा दिने कुराको विपक्षमा आफू अडिग गरेको बताएको बुझिएको छ ।

बादल आफू गृहसहित उपप्रधानमन्त्री बन्ने अपेक्षामा छन् । ओलीले उनलाई स्थायी समिति बैठक अगाडि नै मन्त्रिपरिषद गठन गर्ने र आफूले दिएको बचन पूरा गर्ने बचन दिएको बादल समूहका एक नेताले जानकारी दिए ।