ट्रम्पले भने: चीनले अमेरिकामाथि इतिहासकै ठूलो आक्रमण गर्यो
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी अमेरिकामाथि भएको इतिहासकै ‘खराब आक्रमण’ रहेको बताएका छन् ।
उनले यसका लागि चीन जिम्मेवार रहेको आरोप लगाउँदै अहिलेको महामारी सन् १९४१ को डिसेम्बर ७ मा जापानी सेनाले अमेरिकाको पर्ल हार्बरमा गरेको आक्रमण भन्दा पनि भयानक रहेको बताए ।
पर्ल हार्बरमा भएको आक्रमणपछि अमेरिका औपचारिक रुपमा दोस्रो विश्वयुद्धमा प्रवेश गरेको थियो।
कोरोना भाइरसको महामारीले अमेरिकालाई पर्ल हार्बरमा जापानले प्रहार गरेका बमहरुले भन्दा पनि गम्भीर रुपमा हिर्काएको बताएका छन् । यस्तै अहिलेको महामारी सन् २००१ को सेप्टेम्बर ११ को आतंककारी आक्रमण भन्दा पनि भयानक रहेको ट्रम्पले बताएका छन् ।
चीनले कोरोना भाइरसको सुरुमै नियन्त्रण गर्न नसकेको र त्यसको जानकारी पनि विश्वलाई नदिएकाले अहिलेको अवस्था आएको आरोप लगाउँदै ट्रम्पले उसलाई सजाय दिने बताएका छन् ।
तर चीनले भने महामारीको नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको ट्रम्प प्रशासनले आफ्नो कमजोरी लुकाउन सर्वसाधारणको ध्यान विचलित गर्न चाहेको बताउँदै आएको छ ।
चीनको वुहानबाट गएको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ७३ हजार भन्दा बढीको मृत्यु भएको छ ।
यस्तै अमेरिकामा संक्रमितको संख्या पनि १२ लाख २७ हजार भन्दा बढी पुगेको जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।
ओभल अफिस ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘हाम्रो देशमाथि भएको अहिलेसम्मकै ठूलो आक्रमणबाट हामी गुज्रिएका छौँ, यो अहिलेसम्मकै ठूलो आक्रमण हो । यो कहिले हुन हुँदैनथ्यो । यसलाई उद्गम थलोमै रोक्न सकिन्थ्यो । चीनमा सीमित गर्न सकिन्थ्यो । तर त्यस्तो हुन सकेन ।’
पत्रकारले त्यसपछि कोरोना भाइरसको महामारीलाई उनले वास्तविक युद्धकै कार्य जस्तो रुपमा लिएको हो भनेर ट्रम्पलाई सोधेका थिए ।
त्यसको जवाफमा उनले, ‘म यो अदृश्य शत्रु (कोरोना भाइरस) लाई युद्धका रुपमा लिन्छु । मलाई यो भाइरस यहासम्म जसरी आयो त्यो मन परेको छैन, किनकी यसलाई रोक्न सकिन्थ्यो, तर त्यस्तो भएन । म अदृश्य शत्रुलाई युद्धका रुपमा लिन्छु ।’
ट्रम्पसँगै विदेश मन्त्री माइक पोम्पेओ पनि महामारीलाई लिएर चीनको आलोचनामा लगातार उत्रिरहेका छन् । उनले बुधबार चीनले महामारीको क्षतिको ढाकछोप गरेको पनुः अभियोग लगाएका छन् ।