इलाममा प्रहरी र विप्लव समूहबीच भिडन्त - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

इलाममा प्रहरी र विप्लव समूहबीच भिडन्त



काठमाडौं- इलाममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रहरीमाथि आक्रमण गरेको छ । प्रहरीका अनुसार उनीहरूबीच केहीबेर भिडन्त भएको थियो ।

विप्लवका कार्यकर्ता रहेको सूचनाका आधारमा सोमबार राति माई नगरपालिका ९ बरुङमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ जनाको टोलीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गरेका हुन्।

प्रहरी र विप्लवका कार्यकर्ताबीच केहीबेर दोहोरो गोली हानाहान भए पनि दुवैतर्फ मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रहरीको टोली पुग्नासाथ विप्लवका कार्यकर्ताले पेस्तोलबाट फायर गरेको इलामका प्रहरी प्रमुख एसपी हरि बहादुर पाण्डेले बताए। प्रहरीले समेत जवाफी फायर गरेको थियो।

घटनास्थलबाट विप्लवका तीन कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलाम इन्चार्जसमेत रहेका संखुवासभाको चैनपुर नगरपालिका–६ का ५४ वर्षीय हिमाल भन्ने पुष्प कोइराला र ताप्लेजुङ मुकुवाखोला गाउँपालिका ८ का २६ वर्षीय जलन भन्ने पासाङ डन्डु शेर्पा र उदयपुर तामलिक गाउँपालिका ६ का १९ वर्षीय सौरव भन्ने पासाङ तामाङ पक्राउ परेका हुन्।

उनीहरुको साथबाट ईलेक्ट्रिक डेटोनेटर १९ थान, सकेट बम १ थान, प्रेसरकुकर बम १ थान, कुपी बम १ थान, पाइप बम १ थान, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थ करिब ३ केजी, डेडकट वायर ६७ फिट, बाइनाकुलर १ थान, सलाई १ दर्जन, रिमोट कन्ट्रोल ४ थान, खुकुरी २ थान, खाली प्रेसरकुकर १ थान, मोबाइल ८ थान लगायतका सामानहरु प्रहरीले बरामद गरको छ।

उनीहरु स्थानीयको खाली घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरी पुगेको थियो।