टरेको छैन ओलीमाथिको सङ्कट: देखिएभन्दा फरक छ कथा - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

टरेको छैन ओलीमाथिको सङ्कट: देखिएभन्दा फरक छ कथा



काठमाडौं- निकै उतारचढाबबीच शनिबार सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो सकिएको अड्कल गरिएकै बेला सोंचेभन्दा फरक नतिजा आउने देखिएको छ ।

सचिवालय बैठकमा क्षमायाचना गरेपछि टरेको भनिएको प्रधानमन्त्री ओली माथिको कालो बादल झन् चर्किने सम्भावना बढेको छ । प्रधानमन्त्री ओली विरोधी मोर्चा फेरि जुर्मुराउन थालेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटस्थहरुले पार्टीभित्रको विवाद टुंगिनसकेको बताएको छन भने वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले बैशाख २५ गते बस्ने नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाकै माग राख्ने रणनीति लिएको छ ।

त्यतिमात्र होइन सचिवालय बैठकमा ओली पक्षमा देखिएका नेताहरूको पनि फरक क्रियाकलाप देखिन थालेको छ । कतिपय नेताहरूले स्थायी समिति बैठक टार्ने अवस्था देखिएकोले सचिवालय बैठकमा सबै नम्र भएको बताएका छन् । प्रधानमन्त्री ओलीले स्थायी समिति बैठकमा रुची नै नराखेपछि उनीहरूले रणनीति बदलेको कतिपयको निष्कर्ष छ।

नेकपा भित्रको आन्तरिक शक्ति संघर्ष शनिबारको सचिवालय बैठकबाट समाधान हुने ठानिएको थियो । तर, पार्टी स्थापनादेखि नै तेस्रो धारको नेतृत्व गरिहेका नेता माधव कुमार नेपाल समूह भने बैठकको निर्णयबाट सन्तुष्ट देखिएको छैन ।

बैशाख २५ गते बस्ने स्थायी कमिटिको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको बेला बैठकमा नेपाल समूहको मुख्य एजेण्डामा ओलीको राजनीमा परेको छ ।

नेपाल निकट स्थायी कमिटि सदस्य जगन्नाथ खतिवडाका अनुसार स्थायी कमिटिको बैठकमा ओलीको राजीनामा मागिने छ ।

गत बुधबारको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड र नेता नेपालले ओलीको राजीनामा माग गरेका थिए । त्यसपछि ओलीको कुटीलता र चिनियाँ राजदूतको सक्रियताले ओलीको राजीनामा माग्ने अडानबाट प्रचण्ड समूह पछाडी हटेको बुझिएको छ ।

प्रचण्ड निकट नेता हरिवोल गजुरेल सचिवालयको बैठकले पार्टीभित्रको सम्पूर्ण विवादहरु टुंगोमा नपुर्‍याएको बताउँछन् ।

नेपाल पक्षको दाबीलाई मान्ने हो भने नेकपा भित्रको रडाको स्थायी समिति वैठकसम्मका लागि थामिएको हो ।स्थायी समिति वैठकले चित्तबुझ्दो निकास दिन सकेन भने रडाकोले नयाँ रुप नलेला भन्न सकिंदैन ।

प्रचण्डको कुर्सी, बामदेवको उधारो बाचा र ओलीको आत्मालोचनाले मात्रै समस्याको समाधान नहुने नेताहरू बताउँछन । एक केन्द्रीय सदस्यका अनुसार ओलीमाथिको सङ्कट यथाबत छ । अहिले देखिएभन्दा कथा फरक छ ।