भारतबाट आएका व्यक्तिको क्वारेन्टाइन लैजाँदै गर्दा ज्यान गयो
बैतडी- भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरिएका एक व्यक्तिको क्वारेन्टाइन सार्ने क्रममा ज्यान गएको छ ।
झुलाघाटबाट उद्धार गरेर ल्याइएकी बैतडीको पुर्चौडी नगरपालिका–६ का ६७ वर्षीय जूनी लोहारको शनिबार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीराम पाण्डेले जानकारी दिएका छन् ।
शनिबार विहान पुरचौडीको क्वारेन्टाइनमा हिंडाएर लैजाने क्रममा लोहारको बाटोमै मृत्यु भएको डीएसपी पाण्डेले जानकारी दिएका छन् ।
बिहीबार सीमावारीबाट ल्याइएका लोहारसहितको समूहलाई पहिलो दिन दशरथचन्द नगरपालिकाको स्कुलमा राखिएको थियो । शुक्रबार बैतडीको पुरचौडी नगरपालिकामा ल्याइएको थियो ।
कोरोनाको कुनै लक्षण नदेखिए पनि मृतक लोहारको स्वाब परीक्षणका लागि धनगढी पठाइएको छ । उनले दमको औषधि खाइरहेको पाइएको पनि पाण्डेले जानकारी दिएका छन् ।