किन गरे महेश बस्नेतले राजिनामा दिने घोषणा ? - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

किन गरे महेश बस्नेतले राजिनामा दिने घोषणा ?



काठमाडौं – पूर्वमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य महेश बस्नेतले आवश्यक परे सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

एक टेलिभिजनमा कुरा गर्दै सांसद बस्नेतले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन आफूले राजीनामा दिएर उपनिर्वाचनबाट जिताउने घोषणा गरेका हुन् ।

सांसद बस्नेतले नेकपाभित्रको पार्टी एकतालाई मजबुत बनाउन तथा समृद्ध नेपाल निर्माणको लागि उपाध्यक्ष बामदेव गौतमले भक्तपुरबाट चुनाव जिताउनको लागि राजीनामा दिन तयार रहेको बस्नेतले बताए ।

‘भक्तपुरका जनताले बामदेवलाई स्वीकारेमा राजीनामा दिएर बाटो खुला गरिदिन तयार छु,’ सांसद बस्नेतले भने, ‘अघिल्लो पुस्तालाई सम्मान गरेर मात्र अघि बढ्न सकिन्छ । यो वा त्यो बहानामा नेतृत्वले कुनै पनि समस्या उत्पन्न गर्नु हुँदैन ।’

उनले भने, ‘मुलुकको समृद्धिको यात्रामा सबैले एकढिक्का भएर अगाडि बढ्नुको कुनै विकल्प छैन,।’ सरकार सञ्चालनको लागि प्रधानमन्त्रीसँग सांसदहरूको बहुमत रहेको स्पष्ट प्रमाण लिखित रुपमा प्रस्तुत गइसकेको छ ।’ सांसद बस्नेतले अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालले सत्ता परिवर्तन गर्न नभई पार्टी तथा संगठन निर्माणको निम्ति लाग्नु आवश्यक रहेको बताए ।

बस्नेतले प्रधानमन्त्री ओलीले आगामी निर्वाचनपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष नबन्ने स्पष्ट पारिसकेको जानकारी गराउँदै उनले पार्टीको अधिवेशनलाई छिटोभन्दा छिटो गर्दै नेतृत्व परिवर्तनको ढोका खुला गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीका समस्या समाधानको बाटोमा अघि बढेर अहिलेकै नेतृत्वमा आगामी ३ वर्षको सरकार सञ्चालन गर्नुपर्ने उनले बताए । ‘सरकार तथा पार्टी सचिवालमा भएका गल्ती र कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्छ,’ उनले भने ।