रुपन्देहीका संक्रमित: सीमाबाट लुकेर छिरे, कहिले आए भन्ने एकिन नै छैन - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

रुपन्देहीका संक्रमित: सीमाबाट लुकेर छिरे, कहिले आए भन्ने एकिन नै छैन



काठमाडौं- रुपन्देहीमा भेटिएका कोरोना संक्रमित युवा लुकेर सीमाबाट छिरेर नेपाल आएको खुलेको छ। शुक्रबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देही कोटहीमाईका युवा १४ दिन क्वारेन्टाइनमा बसेको बताइएको छ ।

भारतको दिल्लीमा बस्दै आएका उनि कोरोना संक्रमण फैलिन नदिन नेपाल-भारत दुवैतर्फ लकडाउन गरिएको अवस्थामा नेपाल आएका थिए । सीमाबाट आएका ति युवा गाउँमा छन् भन्ने थाहा हुनेबित्तिकै क्वारेन्टाइनमा राखिएको थियो ।

भारतबाट ठ्याक्कै कति गते आए भन्ने एकिन भने नभएको स्थानीयले बताएका छन् । लुकेर आएका ति युवालाई गाउँमा हल्ला हुनेबित्तिकै कोटहीमाई गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

सीमा नाका बन्द भएकै बेला उनी खेतको बाटो भएर गाउँ पसेका थिए । मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई भारतसँग सीमा जोडिएको गाउँपालिका हो। त्यसैले पनि सहजै खेतको बाटो उनि नेपाल आएका थिए ।

बाहिरबाट आएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखी उनीहरूको स्वाब परीक्षण गर्ने क्रममा शुक्रबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।

२५ वर्षीय ती युवाको रुपन्देहीको भैरहवास्थित बिउविजन कार्यालयमा स्थापना गरिएको कोरोना प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि गरेको छ।

अहिले उनलाई लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल धागो कारखानामा स्थापना गरेको कोरोना विशेष अस्पतालमा उपचार सुरू गरिएको बताइएको छ ।

गाउँपालिकाकाले ती युवामा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरूको खोजी भइरहेको जनाएको छ । उनि कति गते आए र को को सँग भेटे भन्ने निकै गाह्रो भएको बताइएको छ ।

लकडाउन घोषणा गरे पनि भारतसँग सीमा जोडिएका तराईका जिल्लाका पालिकाहरूमा खुला सीमानाको फाइदा उठाउँदै कतिपय खेत तथा खोला र जंगलको बाटो भएर सीमावारि आउने गरेका छन्। यसले भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूमा कोरोना संक्रमणको जोखिम बढाएको छ।

त्यस्तै, शुक्रवार बाँकेको नेपालगञ्जमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन्।

६० वर्षीय ती व्यक्तिको बाँकेको खजुरास्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ।

रुपन्देही र नेपालगञ्जमा भेटिएका दुवै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।