वैशाख २५ पछि लकडाउन खुकुलो हुन्छ: स्वास्थ्यमन्त्री ढकाल - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

वैशाख २५ पछि लकडाउन खुकुलो हुन्छ: स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लक डाउन केही खुकुलो हुने बताएका छन् ।

सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लक डाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको ढकालले बताए ।

शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लक डाउन खुकुलो हुने बताए ।

कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लक डाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए। कारोनाका कारण दिर्घरोगी र अन्य विरामीहरु अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै विरामीहरुलाई अस्पतालसम्म लक डाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए।

‘बन्दाबन्दी विगतको भन्दा नयाँ ढंगले जानुपर्छ । अब सहजिकरण गर्दै जानुपर्छ । कृषि, उद्योगधन्दाहरु अरु विभिन्न खालका विषयमा अतिरिक्त महत्वपूर्ण कुराहरुका विषयमा विचार पुर्‍याउनुपर्छ । कोरोना कोरोना भनेकै कारण दिर्घरोगी अस्पतालको सेवाबाट बञ्चित हुने, लक डाउनका कारण घरमा विरामी भएन भने अस्पतालसम्म पुर्‍याउन नसकिने अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्सलाई एकिकृत बनाएर कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।’

मन्त्री ढकालले विभिन्न क्षेत्रबाट गाउँ फर्किएका नागरिकहरुको र्‍यापिड डाइग्नोष्टिक परीक्षण जारी रहेको पनि बताए। सर्वोच्च अदालतले बाटोमा रहेका र सीमा नाकामा रहेका नागरिकहरुलाई उनीहरुको घरसम्म पुर्‍याउन आदेश जारी गरेपछि सरकारले घर पुर्‍याउने नीति अवलम्बन गरेको उनले बताए।

बाटोमा अलपत्र रहेका नागरिकहरुलाई सुरक्षित घर पुर्‍याइएको र आरडिटी परीक्षण जारी रहेको उनले बताए। मन्त्री ढकालले विश्व महामारीको अवस्थामा सरकार र जनताको तर्फबाट भएका प्रयत्नहरुले नेपाल उच्च जोखिममा नहरहेको विश्व स्वास्थ्य संगठनले नै भनिसकेको बताए।