कोरोना आशंका गरिएका उदयपुरका युवाले गरे आत्महत्या
उदयपुर- उदयपुरमा कोरोना संक्रमण आशंकामा क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् ।
उदयपुरको रौतामाई गाउँपालिका–७ राजाबासस्थित रौता जनता क्याम्पसको क्वारेन्टाइनमा बसेका १८ वर्षीय युवकले बिहीबार राति झुण्डिएर आत्महत्या गरेका हुन् ।
उदयपुरको रौतामाई ७ गुराँसेका सुमन विकले आत्महत्या गरेको गाउँपालिका कार्यालयले जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईका अनुसार श्रीमतीको सलको पासो लगाएर क्वारेन्टाइन कोठामै झुण्डिएको अवस्थामा उनी शुक्रबार बिहान मृत फेला परेका हुन् ।
प्रेम विवाह गरेर मजदुरी गर्न काठमाडौं आएका विक दम्पतिलाई वैशाख ११ गते उद्धार उदयपुरमा लगेर क्वारेन्टाइनमा राखिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार राति ८ः०० बजे खाना खाएर सुतेका श्रीमान् बिहान झुण्डिएको देखेपछि श्रीमतीले क्वारेन्टाइन प्रशासनलाई खबर गरेकी थिइन् ।
आत्महत्याको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिएका छन् ।