ओलीलाई नेपालको जवाफ: तपाईं जस्तो पदलोलुप होइन, अध्यक्ष पद चाहिन्न - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

ओलीलाई नेपालको जवाफ: तपाईं जस्तो पदलोलुप होइन, अध्यक्ष पद चाहिन्न



काठमाडौं- नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष बन्न अस्वीकार गरेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँगको भेटवार्तामा नेता नेपालले आफूलाई कुनै पदको लोभ नभएको भन्दै अध्यक्ष पद आफूलाई नचाहिने बताएका छन् ।

नेता नेपालले ओलीलाई प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिएर पार्टी निर्णयका लागि मार्गप्रशस्त गर्नुपर्ने समेत बताएका छन् । बुधबार भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेपाललाई अध्यक्ष बनाउन अफर गरेका थिए ।

बैठकमा वामदेव गौतमलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउने प्रस्तावले केहि हच्कचिएको नेपाल समूह ओलीको अफर आफूहरूलाई फुटाउनकै लागि ल्याइएको निष्कर्षमा पुगेको छ ।

नेता नेपालले अहिलेको समस्या पद थपेर मात्र समाधान नगर्ने भएकाले ओलीलाई स्पष्ट जवाफ दिएको नेकपा नेता रघु पन्तले बताए ।

अध्यक्ष बनाउने प्रस्ताव समस्या समाधान गर्न ल्याइएको नै नभएको नेताहरूलाई खुइल्याउन, अप्ठ्यारोमा पार्न, पदलोलुप देखाउन ल्याइएको नेपाल समुहको निष्कर्ष छ ।

वरिष्ठ नेता नेपालले भेटमा प्रधानमन्त्री ओलीलाई दिएको जवाफ उद्धृत गर्दै स्थायी समिति सदस्य रघु पन्तले भने, ‘मेरो लडाइँ पदका लागि होइन, पार्टीलाई विधिवत ढंगले चलाउनुपर्छ, पार्टीलाई क्रियाशील बनाउनुपर्छ, प्रधानमन्त्री र अध्यक्ष को हुने भन्ने दोस्रो विषय हो ।’ पार्टीलाई विधिवत ढंगले सञ्चालन गर्न आफूले संघर्ष सुरु गरेको भन्दै नेपालले अन्य कुनै पनि प्रस्ताव अस्वीकार गर्ने बताएको पन्तले जनाए ।

भेटमा नेता नेपालले प्रधानमन्त्रीले राजीनामा गरेर अहिलेको विवाद समाधान गर्नुको विकल्प नरहेको बताएका थिए । बुधबारको सचिवालय बैठकमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल तथा नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गर्नुपर्ने माग राखेका थिए ।

ओली समूहका नेताहरूसँग सोमबारको सामूहिक वार्तामा पनि नेपाल समूहले दुवै पदबाट ओलीले राजीनामा दिएर निकास दिनुपर्ने माग राखेका थिए । जवाफमा ओली समूहले मन्त्रिपरिषद् पुनर्गठन र मुख्यमन्त्री हेरफेर गर्न सकिने प्रस्ताव अगाडि सारेको थियो ।

तर, समझदारी नबनेपछि बुधबार सचिवालय बैठक बसेको थियो, जहाँ ओलीले नेपाललाई अध्यक्ष र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका थिए । ओलीको पछिल्लो प्रस्तावमाथि शनिबारको सचिवालय बैठकमा छलफल हुनेछ ।