पृथ्बी गुरुङ भन्छन: वामदेवलाई प्रधानमन्त्री बनाउन दिन्नौँ - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

पृथ्बी गुरुङ भन्छन: वामदेवलाई प्रधानमन्त्री बनाउन दिन्नौँ



काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले वामदेव गौतम कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नसक्ने बताएका छन् । उनले हालको लागि गौतमको लागि कुनै पनि सम्भावना बाँकि नरहेको दाबी समेत गरेका छन् ।

वामदेव प्रधानमन्त्री नबन्ने र ओलीलाई हटाए दुर्घटना हुने भन्दै गुरुङले यदि कसैले वामदेवलाई ल्याउन खोजेपनि आफूहरूले नदिने बताएका हुन् ।

गुरुङले पाँच वर्षको लागि सरकार चलाउने जनमत केपी ओलीलाई मात्रै दिएको भन्दै बीचबीचमा बखेडा नझिक्न आग्रह समेत गरे । उनले भने, ‘जनताले नेकपालाई जनमत दिएका हुन्, त्यो जनमत केपी ओलीकै कारणले आएको हो र उहाँ पांच वर्षका लागि निर्विकल्प प्रधानमन्त्री हो ।

गुरुङले अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिए मुलुक दुर्घटनामा फस्ने चेतावनी समेत दिएका छन् । एक टेलिभिजनको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री गुरुङले नेकपालाई अहिलेको जनमतपनि केपी ओलीको कारणले दिएको दाबी गरे । उनले भने,’नेकपाको अहिलेको मत त्यतिकै आएको होईन । जनताले केपी ओलीको लागि यो मत दिएका हुन् ।’

उनले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री हुनको लागि म्याण्डेट नै नभएकाले यस्ता अर्थहीन कुरा नगर्न आग्रह गरे । उनकाअनुसार प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउनेगरि प्रस्ताव गरेपनि अहिले नै यो सम्भव छैन् ।

उनले वामेदवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव कार्यान्व्यन हुन नसक्ने बताए । राष्टियसभा सदस्य मनोनित गर्दापनि प्रधानमन्त्री हुन नसक्ने र प्रधानमन्त्री बन्नको लागि संविधान संशोधन गर्न नेकपासँग दुई तिहाई बुहमत नरहेको उनको भनाई छ ।

अर्को विकल्प भनेको चुनावमा जाने हो । चुनाव जितेर संसदमा आउन निकै लामो समय लाग्ने भएकाले यसको पनि अहिले सम्भावना नरहेको उनले बताए । उनले भने,’वामदेवजी तत्काल प्रम बन्नुहुन्न ।’ गुरुङले केपी ओली नै ५ वर्षको लागि प्रधानमन्त्री भएकोले उनको विकल्प खोज्न नहुने धारणा राखे ।

अहिले ओलीलाई जनताले नरुचाएको र आलोचना भएको छ भन्ने कुरा उनले आफू मान्न तयार नभएको भन्दै ओलीको लोकप्रियता परीक्षण गर्न जनमतसंग्रहमा जानपनि सुझाएका छन् । ७० प्रतिशत जनता अहिलेपनि केपी ओलीको पक्षमा रहेको उनको दाबी छ ।

ओलीलाई अध्यक्षबाट कसैलेपनि हटाउन नसक्ने बताउँदै महाधिवेशन नभएसम्म ओलीमात्रै नभएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि कसैले हटाउन नसक्ने उनको भनाई छ । दुवै अध्यक्ष सहमतिले अर्को महाधिवेशन नभएसम्मका लागि अध्यक्ष भएको उनले जनाए ।