शिर्ष नेता रनभुल्ल: नेकपाभित्र ओलीको विकल्प कोहि रहेनछ
काठमाडौं- सत्ता र पद जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र वामदेव गौतमलाई गोटी बनाएर अगाडी बढ्ने योजनामा रहेको नेकपा भित्रकै एक खेमाले निष्कर्ष निकालेको छ ।
निकै ठुलो जोडबलले बुधबार बसेको सचिवालय बैठकमा सांसद नरहेका र आफैले पटक पटक उपेक्षा गरेका पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने उधारो आश्वासन दिएर ओलीले पुष्पकमल दाहाललाई ‘साइज’मा ल्याउन ‘तुरूप लगाउन’ सुरु गरेका छन् ।
कनिकुथी बसेको सचिवालय बैठकमै ‘सरप्राइज अफर’ दिएर पूर्वएमालेका दुई नेतालाई आफ्नो पक्षमा पार्न प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्लान अगाडी सारेका छन् । ओलीले अगाडी सरेका दुई तुरूप साँचिकै हुन् या मजाक गरेका हुन् शिर्ष नेताहरू अझै रनभुल्लमा छन् ।
कतिपयले ओलीले ल्याउने नयाँ नयाँ फण्डा र भुलाउने रणनीतिले गर्दा नेकपाका सबै नेताहरू पटक पटक चिप्लिने गरेको टिप्पणी समेत गरेका छन् । कतिपयले भने प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई दर्जनौँ पटक यस्ता अफर दिने र ढोका दिने गरेको स्मरण गर्दै वामदेव मख्ख परेको र अन्य नेताहरू चुपचाप भएकाले नेकपामा ओलीको विकल्प नभएको बताउँछन ।
ओलीले सांसदसमेत नरहेका वामदेव गौतमलाई पुनः एकपटक प्रधानमन्त्रीको सपना देखाएका छन् । यस्तै, एक व्यक्ति एक पदको पक्षमा रहेका माधव नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने ओलीको अफर छ ।
राजनीतिक विश्लेषक हरि रोक्का ओलीको रणनीतिलाई अहिलेको खड्गो टार्ने नीतिमात्र रहेको बताउँछन् । गौतम राष्ट्रियसभामा गएर भएपनि प्रधानमन्त्री बन्ने दाउमा छन् । उनकै लागि संविधान संशोधनको चर्चा यसअघि पनि चलेको थियो । ओलीले नै गौतमको सपनामा भाँजो हालिदिए ।
यता, पार्टी एकतादेखि नै निरन्तर अपमानित महसुस गरिरहेका नेपाल ओलीलाई हटाएर पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्ने रणनीतिमा छन् ।
राजनीतिक विश्लेषक मुमाराम खनाल अध्यक्ष पुष्पकमल दाहालले पूर्वमाओवादीपंक्तिलाई लिएरमात्र नेकपाभित्र शक्तिआर्जन गर्न नसक्ने भएकाले पूर्वएमाले पक्षधरभित्रै खेल्नुको विकल्प नरहेको बताउँछन् ।
गौतमलाई प्रधानमन्त्री बन्ने बाटो सहज छैन । किनभने, उनी जनमतबाट अस्वीकृत पात्र हुन् । पार्टीमा एउटा गुटको नेतृत्व गरिरहेका नेता नेपाल पनि ओलीको रोजाइमा पर्दैनन् ।
प्रधानमन्त्री बन्ने आश्वासन पाएसँगै सचिवालयभित्र गौतम अब ओली या नेपाल–दाहाल कुन कित्तामा उभिन्छन् त्यसले नेकपाभित्रको समीकरणमा फेरबदल ल्याउने छ ।