चीनमा असफल भएको औषधि पुनः परीक्षण गरिँदै - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

चीनमा असफल भएको औषधि पुनः परीक्षण गरिँदै



बीबीसी- कोरोना भाइरसको उपचारमा औषधिको प्रभावलाई लिएर नयाँ आशाको सञ्चार भएको छ। रेमडेसिविरको सुरुवाती परीक्षणमा सकारात्मक नतिजा आएको छ। यो औषधिको प्रयोग इबोलाका बिरामीमा पनि गरिएको थियो।

विश्वभरका अस्पतालमा रहेका कोरोना भाइरसका एक हजार गम्भीर बिरामीमा यो औषधि परीक्षण गरिएकोमा प्लेसिबो औषधिको तुलनामा यो औषधिले ३१ प्रतिशत बढी बिरामी ठिक भएका छन्। रेमडेसिवियर एन्टिभाइरल औषधि हो।

वैज्ञानिकहरुले यो औषधि प्रभावकारी हुने बताइरहेका छन्। जसलाई रेमडेसिवियर दिइएको छ, उनीहरुमध्ये ८ प्रतिशत बाँचेका छैनन्। यो प्रतिशत प्लेसिबोमा ११ प्रतिशत छ।

रेमडेसिवियर अमेरिकी कम्पनी गिलियडले बनाइरहेको छ। जो कोरोना भाइरसबाट गम्भीर रुपले बिरामी छन्, उनीहरुलाई यो औषधि प्रभावकारी हुन सक्ने वैज्ञानिकहरुले बताइरहेका छन्।

विश्वभरका अस्पतालमा यसको परीक्षण चलिरहेको छ। यद्यपि, चीनमा भने यसको परीक्षण असफल भएको थियो। नयाँ परीक्षण यूएस नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिज अन्तर्गत भइरहेको छ।

अमेरिकाका प्रख्यात संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले यसलाई खुसीको खबर भनेका छन्। औषधिले नै विषाणु रोक्न सक्ने उनले बताएका छन्।

लण्डनस्थित एमआरसी ट्रायल युनिटका निर्देशक महेश परमारले भनेका छन्, ‘अन्तर्राष्ट्रिय स्तरमा रेमडेसिवियरको यो पहिलो परीक्षण हो। यसको नतिजाले आशाको किरण देखाएको छ। यसको तथ्यांक तथा नतिजाको समीक्षा जारी राख्न जरुरी छ।’