विश्वको ठूलो अर्थतन्त्र भएको अमेरिकामा गम्भीर आर्थिक सङ्कट - Himal Post Himal Post
  • १२ मंसिर २०८१, बुधबार
  •      Wed Nov 27 2024
Logo

विश्वको ठूलो अर्थतन्त्र भएको अमेरिकामा गम्भीर आर्थिक सङ्कट



एजेन्सी- अमेरिका जस्तो शक्तिशाली देशमा आर्थिक सङ्कटको सम्भावना देखिएको छ ।

अमेरिकी अर्थतन्त्र पछिल्लो एक दशक भन्दा बढी समयमा सबैभन्दा जोखिममा आएको बताइएको छ । कोरोना भाइरसको महामारीका कारण अमेरिकी अर्थतन्त्रमा सन् २००८ यताकै गम्भीर असर परेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरिएको लकडाउनका कारण सन् २०२० को पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र गम्भीर रुपले प्रभावित भएको हो । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा वार्षिक ४.८ प्रतिशतका दरले गिरावट आएको देखिएको छ ।

बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकमा पहिलो त्रैमासिकमा अर्थतन्त्र गम्भीर संकटमा परेको देखिएको हो । लकडाउनको धेरै प्रभाव मार्चदेखि मात्रै परेकाले पहिलो त्रैमासिकको तथ्यांकले अर्थतन्त्रमा पर्ने प्रभावको संकेत मात्रै गरेको जनाइएको छ ।

अमेरिकाको केन्द्रीय बैंकका रणनीतिकारले बुधबार भनेका छन्, ‘कोरोना भाइरसको महामारीले अमेरिका र विश्वभर गम्भीर मानवीय तथा आर्थिक संकट पैदा गरेको छ ।’

यसअघि सन् २०१४ मा पनि अमेरिकी अर्थतन्त्रमा गिरावट आएको थियो । तर सो अहिले आएको गिरावट सन् २००८ यताकै सबैभन्दा ठूलो हो ।

यसअघि चीनले सार्वजनिक गरेको पहिलो त्रैमासिकको तथ्यांकमा उसको अर्थतन्त्रमा ६.८ प्रतिशतले गिरावट आएको देखिएको थियो ।