बाबुरामले ओलीलाई भष्मासुर भनेपछि रेडियो नेपालमा खैलाबैला
काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराईले लाइभ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेपछि रेडियो नेपालमा खैलाबैला भएको छ ।
डा. भट्टराईले सोमबार बिहान सरकारी सञ्चारमाध्यम रेडियो नेपाललाई दिएको अन्तरवार्ताले सो सञ्चारगृहमा हंगामा भएको हो ।
बिहान साढे ६ बजे अन्तरसंवाद कार्यक्रममा डा भट्टराईलाई अतिथिको रुपमा निम्त्याइएको थियो । तर सो अन्तर्वार्तामा भट्टराईले प्रधानमन्त्री केपी शर्माको आलोचना गरेपछि रेडियो नेपालमा हंगामा भएको हो ।
रेडियो नेपालले एक विज्ञप्ति जारी गर्दै भट्टराईले ओलीप्रति लक्षित गरी प्रयोग गरेको भाषा र विचारले दुखी तुल्याएको जनाएको छ । विज्ञप्तिमा कार्यक्रम प्रत्यक्ष प्रशारण भएकाले आवश्यक सम्पादन गर्न नसकेको भन्दै माफी समेत मागेको छ ।
अब उप्रान्त रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहने कार्यकारी निर्देशक सुरेश कुमार कार्कीको हस्ताक्षति विज्ञप्तिमा प्रतिबद्धता व्यक्त गरिएको छ ।
अन्तर्वार्तामा भट्टराईले प्रधानमन्त्रीमाथि निरङ्कुश, उदण्ड र भष्मासुर जस्ता शब्दको चयन गर्दै कडा आलोचना गरेका थिए ।
अन्तरवार्तापछि प्रधानमन्त्री कार्यालयले चासो राख्दै रेडियो नेपालका वरिष्ठ अधिकारीहरुलाई फोन गरको रेडियो नेपाल स्रोतले जनाएको छ । सो अन्तरवार्ता नवराज लम्सालले लिएका थिए ।