ओली र नेपालको गोप्य भेट: अर्को बैठकको तयारी
काठमाडौं- प्रधानमन्त्री केपी ओली र नेकपाका वरिष्ठ नेता माधवकुमारबीच भेटवार्ता सकिएको छ । दुवै पक्षका नेताहरुबीच छलफल सुरु हुनुअघि प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा छुट्टै छलफल भएको हो ।
नेकपाका शीर्ष नेताहरुबीच टकराव बढिरहेका बेला उनीहरूबीच छलफल भएको हो । नेपाल बाहिरिएपछि दिउँसो दुवै पक्षका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफलको तयारी भैरहेको बताइएको छ ।
ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली तथा नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त छलफलमा सहभागी हुँदैछन् ।
ओली निकट नेताहरुले तत्कालका लागि केही मन्त्री र मुख्यमन्त्री हेरफेर गर्ने र एकता महाधिवेशनमा अध्यक्षमा समर्थन गर्ने नेपाललाई प्रस्ताव राखे पनि उनीमाथि त्यस्तो ‘उधारो’ प्रस्तावमा सहमति नजनाउन निकट नेताहरुको दबाब छ ।
मुख्यमन्त्री पोखरेल, परराष्ट्रमन्त्री ज्ञवालीलगायतका नेताहरुले ओलीको सन्देश लिएर नेपालसँग दुई दिनयता छलफल गरेका थिए ।
नेपाल निकट स्थायी समितिका नेताहरुको आईतबारको भेलालले पटक पटक धोका भएका कारण ओली पार्टी संचालनको विधि र प्रक्रियासहित प्याकेज सहमतिका लागि तयार नभए अध्यक्ष प्रचण्डसँगै मिलेर अघि बढ्न दबाब दिएको थियो ।
प्रचण्ड र नेपाल निकट नेताहरु वर्षमान पुन, जनाद्र्धन शर्मा, सुरेन्द्र पाण्डे, भीम रावल र गोकर्ण विष्टलगायतले सरकार र पार्टीमा ओलीको विकल्प खोज्ने विषयमा केन्द्रीत रहेर छुट्टै छलफलसमेत गरेका थिए ।