किम जोङको खास अवस्था के हो ? - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

किम जोङको खास अवस्था के हो ?



-बीबीसी- अमेरिकाको वासिङ्नस्थित उत्तर कोरिया मनिटरिङ प्रोजेक्टले सेटलाइट तस्बिरको समीक्षा गर्दै भनेको छ– ‘उत्तर कोरियाको रिजोर्ट टाउन वोनसनमा एउटा ट्रेन उभिएको छ । उक्त ट्रेनलाई सम्भवतः किम जोङ– उनले प्रयोग गर्छन् ।’

मनिटरिङ प्रोजेक्ट ‘थट्टी एट नर्थ’ ले २१ अप्रिलमा वोनसनमा लिडरसिप स्टेसनमा ट्रेन पार्क गरिएको जनाएको छ । मनिटरिङ प्रोजेक्ट ‘थट्टी एट नर्थ’ अनुसार यो स्टेसन किम जोङ–उनको परिवारका लागि सुरक्षित मानिन्छ । यो रिपोर्टलाई समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको बीबीसीले जनाएको छ ।

मनिटरिङग्रुपको रिपोर्टलाई रोयटर्सले स्वतन्त्र रूपमा पुष्टि भने गरेको छैन । समाचारमा किम जोङ– उन वोनसनमै रहेको बारे पनि केही खुलाइएको छैन ।

रिपोर्टमा भनिएको छ, “ट्रेनको उपस्थितिले किम कहाँ छन् भन्नेबारे केही जानकारी हासिल हुन सकेको छैन । उनको स्वास्थ्य अवस्थाबारे पनि केही जानकारी प्राप्त भएको छैन । तर, यति थाहा हुन आएको छ कि उनी देशको अत्यन्तै विशेष पूर्वी तटीय क्षेत्रमा छन् ।”

दक्षिण कोरियाको राजधानी सोलस्थित न्युज वेबसाइट ‘डेली एनके’का अनुसार किम जोङ–उन प्योङयाङको उत्तरी क्षेत्र रिजोर्ट काउन्टी अफ ह्याङसनमा स्वास्थ्य उपचार गराइरहेका छन् ।

‘डेली एनके’ ले यो समाचारमा उत्तर कोरियामा रहेका एक बेनामी स्रोतलाई उद्धृत गरेको छ । दक्षिण कोरियाली समाचार एजेन्सी ‘न्युज इज’का अनुसार किम सायद कोभिड–१९ बाट जोगिन वोनसममा छन् ।