सेतीनदी नजिकै आमा र छोरी मृत भेटिए
तनहुँ- रिसिङ गाउँपालिका– १ कोइदिमस्थित सेतीनदीको किनारामा एक महिला र एक बच्चा मृत भेटिएका छन् । उनीहरू आमा र छोरी रहेको खुलेको छ ।
मृत अवस्थामा भेटिएका व्यास नगरपालिका– १ निर्मलनगरका ३४ वर्षीया रविना श्रेष्ठ र उनकी १० वर्षीया छोरी प्रिया श्रेष्ठ रहेकी छन् ।
शनिबार रिसिङ गाउँपालिका– १ कोइदिमस्थित सेतीनदीमा रविनाको शव र त्यसको करिब एक किलोमिटर तल छोरी प्रियाको शव सेतीनदीमा तैरिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसको दुई दिनअगाडि १५ वर्षीय छोरा विपिन श्रेष्ठ घरमै मृत अवस्थामा भेटिएका थिए ।
विपिन शारीरिक रूपमा असक्त थिए । मृतक रविनाका श्रीमान् भने रोजगारीका लागि विदेशमा छन् । अहिले शवलाई पोस्टमार्टमका लागि दमौली अस्पतालमा पठाइएको छ ।

