देउवाले ओलीलाई भने: सांसद अपहरण गर्नेलाई तत्काल कारबाही गर्नुस - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

देउवाले ओलीलाई भने: सांसद अपहरण गर्नेलाई तत्काल कारबाही गर्नुस



काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद अपहरण गर्नेलाई तत्काल कारबाही गर्न सुझाव दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवाले दुवै अध्यादेश फिर्ता गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद समेत दिएका छन् ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस नोटका अनुसार भेटमा देउवाले ‘तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ। मेरो माग यही छ। देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्बाही हुनुपर्छ’ पनि भनेका छन्।

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई नेकपाका सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व आइजिपी सर्वेन्द्र खनालले अपहरण गरेर काठमाडौं ल्याएको समाजवादी पार्टीले बताएको थियो।

समाजवादी पार्टी फोर्ने उद्देश्यले ओलीकै निर्देशनमा उनको अपरहण गरिएको आरोप समाजवादीले लगाएको थियो। यादवलाई बस्नेत, श्रेष्ठ र खनालले काठमाडौं ल्याएका भए पनि समाजवादी र राजपाबीच एकता भएपछि उनी काठमाडौंको मेरियट होटलबाट ‘उम्किएका’ थिए।

यस्तै देउवाले कोरोनाको रोकथामाका लागि ब्यापक परिक्षण अहिलेको आवश्यकता रहेको भन्दै समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो नगर्न सुझाव दिएको पनि कांग्रेसले बताएको छ।

स्वास्थकर्मीहरुलाई पीपिइलगायतका सामग्री अझै पर्याप्त नभएको भन्दै देउवाले स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम तुरुन्तै रोक्न पनि आग्रह गरेका छन्। ‘श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्। राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन। श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस्,’ देउवाले सुझाव दिएका छन्।