राहत वितरणमा गाउँलेले प्रहरीको टाउको फुटाए - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

राहत वितरणमा गाउँलेले प्रहरीको टाउको फुटाए



काठमाडौं- पश्चिम नवलपरासीमा राहत वितरणका क्रममा स्थानीयबीच विवाद हुँदा प्रहरी सहायक निरीक्षकको टाउकोमा चोट लागेको छ।

रामग्राम नगरपालिका–१७ देवगाँवमा राहत वितरणमा विवाद हुँदा प्रहरी सहायक निरीक्षक चामबहादुर ओलीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका उपरीक्षक लालमणि आचार्यले ओलीको टाउकोमा गहिरो चोट लागेको जानकारी दिए।

ओलीमाथि क्रिकेटको ब्याट प्रहार भएको आचार्यले जानकारी दिए। प्रहरीमाथि आक्रमण गर्ने एक महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

नगरपालिकाले बुधबारदेखि वडा कार्यालय मार्फत विपन्नहरुलाई राहत वितरण सुरु गरेको थियो। शुक्रबार उक्त वडामा राहत वितरण भई रहँदा स्थानीयको एक समूहले गाउँभरीलाई राहत नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए।

तालाबन्दी खोल्न पुगेको प्रहरीसँग १०–१२ जनाको समूहमा रहेका स्थानीयले आक्रमण गरेको प्रहरीले जनाएको छ।

गाउँमा हुनेखानेले राहत पाएको र वास्तविक गरिब विपन्न परिवारले राहत नपाएको भन्दै स्थानीयबीच विवाद भएको थियो।