सर्लाहीमा भेटिए कोरोना पोजेटिभ भएका अर्का व्यक्ति - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सर्लाहीमा भेटिए कोरोना पोजेटिभ भएका अर्का व्यक्ति



काठमाडौं- सर्लाहीको ईश्वरपुर नगरपालिकामा आरडिटी गर्दा एक व्यक्तिको कोरोना नतिजा पोजेटिभ आएको छ।

ईश्वरपुर-९ रामनगर निवासी ५८ वर्षीय एक पुरुषलाई बिहीबार आरडिटी विधिवाट कोरोनाको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।

ती पुरुषको स्वाब पिसिआर विधिबाट परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ।

धेरैजसो आरडिटी पोजेटिभ देखिएको ‘केस’ मा पनि पिसिआर परीक्षण गर्दा नेगेटिभ नतिजा आउने भएका कारण आरडिटी प्रभावकारी नरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

यसैबीच सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ पाइएपछि थप उपचारका लागि वीरगञ्ज लगिएको छ।

किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको प्रजिअ जिसीले जानकारी दिए।

किशोरको परिवारका पाँच सदस्यलाई धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको प्रजिअ जिसीले बताए।

किशोर बुधबार साँझ क्वारेन्टाइनबाट आफ्नो घर गए पनि उनी आफ्नो परिवारका सदस्य बाहेक कसैको सम्पर्कमा नगएको उनको भनाई छ। धनकौल गाउँपालिका क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ।