विवादित अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीमाथि चौतर्फी दवाव - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

विवादित अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीमाथि चौतर्फी दवाव



काठमाडौँ – विवादित अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीमाथि चौतर्फी दवाव सृजना भएको छ । लेखक, अभियन्ता लगायत ११४ जना नागरिकले सरकारले जारी गरेको अध्यादेश फिर्ता लिन आग्रह गरेका छन्।

बुधबार एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले अहिलेको परिस्थितिमा सरकारले ल्याएको अध्यादेशलाई बेमौसमी बाजाको संज्ञा दिएका छन्।

कोरोना भाइरसका कारण सिर्जित सङ्कटले अप्ठेरोमा परेका अति विपन्न, अलपत्र परेका श्रमिकहरू, भारत र तेस्रो मुलुकमा रहेका नेपालीको बारेमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न पनि उनीहरुले सरकारलाई अनुरोध गरेका छन्।

‘पूरा विश्वनै कोरोना भाइरस (कोभिड १९)द्वारा सिर्जित सङ्कटसँग जुधिरहेको बेला, देशभित्र हजारौं श्रमिकहरू आफ्ना लाला–बाला च्यापेर पैदल घर जानुपर्ने बाध्यता आएको बेला, अति विपन्न र श्रमिकहरू आफ्नो छाक टार्न धौ–धौ भइरहेको बेला, भारतमा लाखौँ नेपालीहरू अलपत्र परेको बेला र तेस्रो मुलुकहरूमा लाखौँ नेपाली बेरोजगार भएर देश फर्कन खोजिरहेको बेला सोमबार हतारमा सरकारले जारी गरेको दल विभाजन गर्न पाउने प्रावधान र संवैधानिक परिषद्‌सम्बन्धी प्रावधान बेमौसमी बाजा हो भन्ने हाम्रो ठहर छ’, वक्तव्यमा भनिएको छ।

यस्तै नेपालको इतिहासमा दुर्लभ अवसरका रुपमा अत्याधिक बहुमत प्राप्त सरकारले आफ्नो वाचाअनुरूप जनजीविकाका सवाल र दिगो सामाजिक, आर्थिक सवालमा जनपक्षीय कामहरू गर्नुपर्ने समयमा राजनीतिक खिचातानीमा अल्झनु दुःखको कुरा भएको वक्तव्यमा उल्लेख छ।

सरकारले कोरोनाबाट सिर्जित सङ्कटमा आफ्नो अत्यन्तै कमजोर भूमिकालाई ढाकछोप गर्न खाजेको हो कि भन्ने प्रश्न खडा भएको पनि उनीहरूले आशंका गरेका छन्।