ग्रिन कार्ड रोक्ने आदेशमा ट्रम्पले गरे हस्ताक्षर
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी आवासको स्वीकृति अर्थात ग्रिन कार्डसम्बन्धी काम तत्कालका लागि रोक्ने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् ।
विभिन्न छुटसहितको निर्देशन अनुसार ग्रिन कार्ड सम्बन्धी गतिविधि ६० दिनका लागि स्थगित भएको छ । तर ट्रम्पले यो अवधी बढ्न सक्ने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिवेशमा अमेरिकी कामदारका लागि रोजगारीका अवसरहरु सुरक्षित गर्नका लागि यस्तो निर्णय लिएको बताएका छन् ।
आलोचकले भने ट्रम्पले महामारीलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेको आरोप लगाएका छन् । उनी जहिले पनि आप्रवासीको विपक्षमा रहँदै आएका छन् र त्यही नै उनको प्रमुख चुनावी मुद्दा पनि बन्ने गरेको छ । ट्रम्पको पछिल्लो आदेश आउँदो नोभेम्बरमा हुने चुनाव लक्षित रहेको विश्लेषण गरिएको छ ।
ट्रम्पले भने ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको बुधबारको ब्रिफिङ्गको क्रममा अर्थतन्त्र खुलेपछि अमेरिकीहरुलाई रोजगारीमा प्राथमिकता दिनका लागि ग्रिन कार्ड सेवा रोकेको बताए ।
हरेक वर्ष अस्थायी आवास स्वीकृतिमा कामका लागि विश्वका विभिन्न देशबाट मानिसहरु कामका लागि अमेरिका पुग्छन् । सो सेवा भने ६० दिने अवरोधबाट प्रभावित हुने छैन ।
यस्तै अमेरिकी नागरिकका श्रीमान–श्रीमती तथा सन्तानहरु, अहिले नै अमेरिकामा रहेका ग्रिन कार्डका आवेदक, कामका लागि अमेरिका छिर्न चाहने डाक्ट, नर्स तथा अरु स्वास्थ्यकर्मीहरुमा पनि यो नियम लागु हुने छैन । तर ग्रिन कार्ड पाएकाहरुले परिवारका अरु सदस्यलाई अमेरिका छिराउने प्रक्रियामा भने रोक लाग्ने भएको छ यो अवधीमा ।
राष्ट्रपतिको यो आदेश विरुद्ध कानूनी चुनौति आउने सम्भावना छ।