किमको स्वास्थ्य गम्भीर भएकै बेला अमेरिकी जासूसीबारे नयाँ खुलासा - Himal Post Himal Post
  • १२ मंसिर २०८१, बुधबार
  •      Wed Nov 27 2024
Logo

किमको स्वास्थ्य गम्भीर भएकै बेला अमेरिकी जासूसीबारे नयाँ खुलासा



एजेन्सी- उत्तर कोरियाका नेता किम जोङ उनको स्वास्थ्य गम्भीर खतरामा परेको सूचना पाएपछि अमेरिकाले निगरानी गरिरहेको एक अमेरिकी अधिकारीले सीएनएनलाई जानकारी दिएका छन् ।

किमले बुधवार उनका हजुरबुवाको जन्मजयन्तीमा आयोजित समारोहमा भाग लिएका थिएनन् जसले गर्दा उनको स्वास्थ्यका बारेमा प्रश्न उठेको थियो । त्यसभन्दा चार दिनपहिले उनी एक सरकारी बैठकमा देखिएका थिए ।

सीएनएनलाई अर्का अमेरिकी अधिकारीले किमको स्वास्थ्यका विषयमा उठेका चिन्ता विश्वसनीय भएको तर उनी कति गम्भीर रूपमा अस्वस्थ छन् भन्ने कुरा थाहा पाउन गाह्रो परेको बताए ।

दक्षिण कोरियाबाट प्रकाशित हुने डेली एनके नामक अनलाइन पत्रिकाले किमको मुटुको सर्जरी अप्रिल १२ मा गरिएको खबर दिएको छ ।

उक्त अन्लाइन साइटको खबरअनुसार, अत्यधिक धूम्रपान, मोटोपन र बढी काम गर्ने बानीका कारण किमको मुटुको शल्यक्रिया गर्नुपरेको थियो र उनी अहिले ह्याङसान काउन्टीमा आराम गरिरहेका छन् ।

किमको स्वास्थ्य सुध्रेपछि उनको उपचारमा संलग्न अधिकांश चिकित्सकहरू आइतवार राजधानी प्योङयाङ फर्केको र केही चाहिँ अझै ह्याङसानमै बसेर उनको देखभाल गरिरहेको उक्त न्युज साइटको खबरमा उल्लेख छ । तर यस खबरको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

उत्तर कोरियाबाट सूचना हासिल गर्न एकदमै गाह्रो छ र अमेरिकी जासूसी संस्थाहरूका लागि यो चुनौतीपूर्ण काम हो ।

तर दक्षिण कोरियाको समाचार संस्था योन्हापले राष्ट्रपति कार्यालयका एक अधिकारी काङ मिन–स्योकको भनाइ उद्धृत गर्दै उत्तर कोरियामा किमको स्वास्थ्य खराब भएको संकेत दिने कुनै पनि किसिमको असाधारण गतिविधि नदेखेको खबर दिएको छ ।