सरकारको विरोध गरेको आरोपमा पूर्वसचिव भीम उपाध्याय पक्राउ
काठमाडौं- नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । उपाध्यायलाई केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको छ ।
राती करीब सवा ९ बजे उपाध्यायलाई ललितपुरको कुसन्तीस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई सोह्रखुट्टेस्थित प्रहरी हिरासतमा राखिएको बुझिएको छ ।
उपाध्यायलाई सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको बारेमा जथाभावि लेखेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।
केहि दिन अगाडी प्रधानमन्त्रीलाई फेसबुकमा उनले उपनाम दिँदै स्टाटस लेखेका थिए । सोहि आरोपमा उनलाई पक्राउ गरिएको स्रोतले बताएको छ ।
केही समयअघि स्वास्थ्य मन्त्रालयका वर्तमान सचिव र पूर्व सचिव उपाध्यायबीच ट्विटरमा समेत आरोप प्रत्यारोप चलेको थियो ।
उपाध्यायले स्वास्थ्यमन्त्रीलाई समेत तत्काल हटाउनुपर्ने कुरा सामाजिक सञ्जालमा लेख्दै आएका थिए ।