के ओलीले पार्टी फुटाउने तयारी गरेका हुन्, अध्यादेशको रहस्य के ?
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले देश संकटमा भएकै बेला एउटा फरक अध्यादेश मन्त्रिपरिषदबाट पास गरेका छन् ।
कतिपयले यसलाई ओलीले आफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि आवश्यक परे नेकपा फुटाउन आफूलाई सजिलो हुने गरी ल्याईएको अध्यादेश भनेका छन् ।
प्रधानमन्त्री ओलीले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गराएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका हुन्।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा पछिल्लो समय चलेको हल्ला र शंकाकै भरमा दुई अध्यक्षबीच मतभेद चुलिँदै गएको थियो।
यतिसम्म कि प्रधानमन्त्री ओलीलाई हटाएर माधव नेपाललाई प्रधानमन्त्री बनाउने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको अध्यक्षको जिम्मेवारी सुम्पने गरी नेकपामा तयारी भइरहेको पनि हल्ला भएको थियो ।
सभामुख निर्वाचन र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा पार्टीभित्र प्रधानमन्त्री ओली र प्रचण्ड-नेपाल खेमाबीच मतभेद चर्किँदै गएको थियो।
नेकपाभित्र प्रचण्ड-नेपाल एकातिर हुँदा पार्टीका मुख्य निकाय: सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिका साथै संसदीय दलमा पनि सो खेमाको बहुमत पुग्छ।
संसदीय दलका ४० प्रतिशतभन्दा माथि सदस्यको भने प्रधानमन्त्री ओलीलाई साथ रहेको ओली पक्षको दाबी छ।
त्यसैले संसदीय दलमा ४० प्रतिशत समर्थन भए नेकपा फुटाएर छुट्टै पार्टी गठन गर्न मिल्ने गरी अध्यादेश ल्याउन लागिएको जानकारहरूले बताएका छन् ।
अध्यादेशको विषयमा सामाजिक सञ्जालमा पनि बहस हुन थालेको छ । कतिपयले यसको चर्को विरोध गरेका छन् भने कतिपयले समर्थन गरेका छन् ।