चीनले कोरोना फैलाएको प्रमाणित भए ध्वस्त पार्ने ट्रम्पको चेतावनी - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

चीनले कोरोना फैलाएको प्रमाणित भए ध्वस्त पार्ने ट्रम्पको चेतावनी



एजेन्सी- अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले कोरोना भाइरस महामारीका लागि चीन जिम्मेवार देखिए उसले त्यसको परिणाम भोग्ने चेतावनी दिएका छन्।

‘यदी त्यो गल्ती थियो, त्यो गल्ती हो। तर, उनीहरू यसबारेमा जानकार थिए भने त्यसको परिणाम भोग्नुपर्नेछ’, ट्रम्पले आफ्नो नियमित ब्रिफिङमा शनिबार भने।

सो ब्रिफिङमा उनले अमेरिकाले के कदम चाल्छ भन्ने बारेमा भने केहि बताएनन्।

यसअघि बेलायतले पनि चीनले कोरोना भाइरससम्बन्धी ‘कडा प्रश्नहरूको सामना गर्नुपर्ने’ बताएको थियो।

ट्रम्प र वरिष्ठ सहयोगीहरूले चीन कोरोना भाइरसका बारेमा पारदर्शी नभएको भन्दै उसको तीखो आलोचना गर्दै आइरहेका छन्।

यसै साता ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको पक्षपाती भएको भन्दै उसलाई दिने अमेरिकी सहयोग रोकेका छन्।

विश्वका यी दुई ठूला अर्थतन्त्रबिच कोरोना भाइरसलाई लिएर पटक-पटक सार्वजनिक रुपमै आरोप-प्रत्यारोप हुँदै आएको छ।

ट्रम्पले सुरुमा कोरोना भाइरसमा चीनले गरेको नियन्त्रण प्रयासको खुलेर तारिफ गरेका थिए तर पछि उनी र उनका सहयोगीहरूले यसलाई ‘चिनियाँ भाइरस’को उपनाम दिएर विवाद निम्त्याएका थिए।

दुबै देशबिच गत वर्ष केही समय चलेको व्यापारयुद्धपछि कृषि व्यापारका बारेको भएको पहिलो चरणको सहमतिलाई उल्लेख गर्दै ट्रम्पले ‘उनीहरूले यस्तो गर्दासम्म’ चीन-अमेरिका सम्बन्ध राम्रो भएको बताए।

उनले कोरोना भाइरसको महामारी ‘भुलवश’ नियन्त्रण बाहिर गएको थियो वा जानाजान गरिएको थियो’ भन्ने अहिलेको प्रश्न रहेको भनाइ राखेका छन्।

‘यी दुईबिच ठूलो अन्तर छ’, ट्रम्पले भने।

ट्रम्पले वुहान भाइरोलोजी प्रयोगशालाका बारेमा यसैसातामा अमेरिकी टेलिभिजन फक्स न्यूजले देखाएको रिपोर्टलाई उल्लेख गर्दै यस्तो बताएका हुन्।

फक्सले यसै साता चीनले भाइरसको क्षमता र त्यससँग लड्नसक्ने आफ्नो क्षमता परीक्षण गर्न भाइरस फैलाएको रिपोर्ट प्रसारण गरेको थियो।

ट्रम्पले आफ्नो सरकारले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको हो की होइन भन्ने बारेमा खोजी गरिरहेको बताए।

शनिबारको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले पुनः भाइरसका कारण चीनमा भएको मृत्युमाथि उसले शुक्रबार पेस गरेको नयाँ तथ्यांकमा पनि शंका व्यक्त गरेका छन्।

शुक्रबार चीनले वुहानको मध्यशहरमा १३ सय मानिसहरू कोरोनाबाट मरेको जानकारी दिएको छ। उसले वुहानमा मरेका यी मानिसहरू पहिलो नगनिएको बताएको थियो।

यसैगरी चीनले मृतकसंख्या ढाकछेप गरेको भन्ने आरोपको खण्डन पनि गरेको छ।