चैत ७ गते नै उदयपुर पुगेका थिए संक्रमित १२ जमाती, त्यसपछि के भयो ? - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

चैत ७ गते नै उदयपुर पुगेका थिए संक्रमित १२ जमाती, त्यसपछि के भयो ?



काठमाडौं- उदयपुरमा एकै पटक १२ जना कोरोना संक्रमित भेटिएपछि नेपालमा थप त्रासको वातावरण बनेको छ । त्यसमाथि सबै जना ४० वर्ष मुनिका भएकामा केहि समूह त्रसित छन् नै ।

सङ्क्रमणको पुष्टि भएका १२ जना जमाती भारतबाट आएको र विराटनगर हुँदै चैत ७ गते नै त्यहाँ पुगेको खुलेको छ ।

उदयपुरका सहायक जिल्ला अधिकारीका अनुसार १२ जना भारतीय र ४ जना नेपाली जमातीहरुको टोली चैत ७ गते उदयपुर पुगेको थियो।

शुक्रबार बेलुका मात्रै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित एक मस्जिदमा रहेका १२ जनालाई कोभिड १९ को संक्रमण भएको खुलेको हो ।

लकडाउन हुनु अगावै नै उनीहरू उदयपुर पुगेको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीले जनाएका छन् । संक्रमित सबै १२ जना पुरुष रहेको र गत चैत्र ७ गते नै सो स्थान पुगेको कारण स्थानीयहरूमा त्रास बढेको बताइएको छ ।

गत मंसिरमा विराटनगर नाकाबाट नेपाल प्रवेश गरेको सो समूह मोरङ, सुनसरीका विभिन्न मस्जिदमा शिक्षा दिँदै उदयपुर पुगेको पनि खुलेको छ ।

स्थानीयले उनीहरुको बारेमा जानकारी दिएपछि प्रशासनले सबैको आरडीटी परिक्षण गरेको थियो जसमा नतिजा नेगेटिभ आएको थियो। त्यसपछि बिहीबार बेलुका सबैको अन्तिम नतिजाका लागि थ्रोट स्वाब विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको थियो।

कोशी अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा समेत उनीहरुको नतिजा पोजेटिभ आएपछि नमूना थप परीक्षणका लागि काठमाडौंस्थित राष्टिय जनस्वास्थ्य प्रयोगशालामा पुर्‍याइएको थियो।