इन्टरनेटको पैसा तिर्न नसक्दा लाइन काट्न नपाइने, पछि फाइन नलाग्ने - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

इन्टरनेटको पैसा तिर्न नसक्दा लाइन काट्न नपाइने, पछि फाइन नलाग्ने



काठमाडौं- लकडाउन अवधिभर शुल्क नतिरे पनि इन्टरनेटको लाइन काट्न नपाइने भएको छ । दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई यस्तो निर्देशन जारी गरेको छ।

‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नुपर्ने भएकाले लाइन नकाट्न निर्देशन दिएको हो।

प्राधिकरणले लकडाउनको अवधिमा इन्टरनेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भएकोले सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न आग्रह गरेको हो।

भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टरनेट सेवा समेत निरन्तर सञ्चालन हुने गरी लकडाउन अवधिपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणल सेवा प्रदायकलाई निर्देशन दिएको हो।

वर्ल्डलिंकले पछिल्लो समय लकडाउन अवधिमा पैसा सिद्धिने ग्राहकको लाइन काट्न थालेको थियो। ग्राहकहरुले लकडाउनमा बाहिर निस्किन सम्भव नभए पनि वर्ल्डलिंकले आफ्नो शाखामा आएरै भए पनि पैसा तिर्नुपर्ने अडान राख्दै आएको थियो।

सोही कारण ग्राहकहरु इन्टरनेट पहुँचबाट बाहिरिनथालेपछि प्राधिकरणले पैसा सकिए पनि सेवा सुचारु गर्न कम्पनीहरुलाई निर्देशन जारी गरेको हो।