खोप पत्ता नलागेसम्म लकडाउन !

एजेन्सी- बेलायती महामारीविद् निल फेरगुसनले नोभेल कोरोना भाइरसविरुद्धको खोप पत्ता नलागेसम्म बेलायतमा सामाजिक दूरी कायमको प्रावधान लागु गरिनुपर्ने बताएका छन् ।
कोरोना भाइरसको विषयमा सरकारलाई सल्लाह प्रदान गर्दै आएका फेरगुसन इम्पेरियल कलेज लन्डनका प्रोफेसरसमेत हुन् ।
उनले भने, “अहिले यतिकै सामान्य अवस्थामा फर्किन सकिँदैन । हामीले सामाजिक दूरी कायम गर्ने प्रवाधान जारी राख्नुपर्छ । यो निकै महत्त्वपूर्ण हुन्छ । सम्भवत: खोप विकास नहुन्जेलसम्म हामीले जारी राख्न आवश्यक छ ।”
“हामीले कोरोना संक्रमणको दरमा कमी आउनेबित्तिकै सामाजिक दूरी निर्देशिकाहरु पूर्ण खारेज गर्दै सावधानीहरु उपायहरु अपनाउन छोड्यौं भने संक्रमण फेरि बल्झिनेछ,” उनले थपे ।
अमेरिकी विज्ञको समान मत
संयुक्त राज्य अमेरिकाका स्वास्थ्य विज्ञहरुले पनि फेरगुसनकोजस्तै तर्क अघि सारेका छन् ।
हाभार्ड विश्वविद्यालयका अनुसन्धानकर्ता टी.चानले अमेरिकामा सन् २०२२ सम्म सामाजिक दूरी कायम गर्ने निर्देशिका पालना गर्नुपर्ने बताएका छन् ।
उनले भने, “कोरोनाविरुद्धको खोप अथवा कुनै उत्कृष्ट उपचार पद्धति पत्ता नलागेसम्म सामाजिक दूरीको प्रवाधानलाई लागु गर्नुपर्छ । नत्र कोरोना संक्रमण थप फैलिएर स्थिति निकै खराब हुनेछ ।”
ह्वाइटहाउसले यस गर्मी मौसमसम्म कोरोना भाइरस संक्रमण अन्त्य भइसक्ने बताइरहेका बेला विज्ञहरुको यस्तो प्रतिक्रिया आएको हो ।

