कञ्चनपुरमा राहतको नाममा कुहिएको चामल: गरिबमाथि मजाक
कञ्चनपुरको भीमदत्त नगरपालिकाकाे १० नम्बर वडा कार्यालयले राहतमा कुहिएकाे चामल वितरण गरेको छ ।
भीमदत्त नगरपालिका– १० सरस्वती टोलका बासिन्दाले वडा कार्यालयले कुहिएकाे चामल दिएकाे गुनासाे गरेका छन् ।
सरस्वती टोल विकास समितिका अध्यक्ष टेक मल्लले भने, ‘यो टोलका १२ जनालाई दिएको चामल कुहिएको पाइयो । अन्त पनि यस्तै भएको हुन सक्छ। राहतका नाममा कुहिएको चामल दिएर गरिबको स्वास्थ्यमाथि खेलबाड गरिएको छ। अहिले वडाका मान्छे आएर गाउँमा बाँडिएको चामल फिर्ता लान थालेका छन् ।’
भीमदत्त नगरपालिकाको आपत्कालीन राहत सहयोग अनुगमन समितिले बाँडिएको चामलको गुणस्तर हेर्न घरघरमा स्थलगत अनुगमन गरेको छ। अनुगनका क्रममा समितिले पनि वितरण गरिएको राहतको चामल अखाद्य भएको निष्कर्ष निकालेको छ।
समितिका सदस्य प्रभुनिधि पन्तले सरस्वती टोलमा वितरण गरिएको चामल अखाद्य भएको बताए । ‘उक्त चामल कहाँबाट कसले र कहिले दिएको हो त्यस विषयमा खोजबिन गर्दै छौँ,’ पन्तले भने, ‘तत्कालको लागि पीडित परिवारलाई राम्रो चामल दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौँ।’
भीमदत्त नगरपालिका– १० का वडाध्यक्ष प्रमानन्द जोशीले वडामार्फत वितरण गरिएको चामल नगरपालिका कार्यालयबाट प्राप्त भएको बताए । ‘हामीले वितरण गरेको चामल वडाले खरिद गरेको होइन,’ उनले भने, ‘नगरपालिका कार्यालयबाट प्राप्त भएको चामल हामीले बाँडेका हौँ। यसमा हाम्रो कुनै दोष छैन् ।’
वडाका ६ सय परिवारमा वितरण गरिएको चामलमध्ये सरस्वती टोलमा मात्रै समस्या देखिएको उनको दाबी छ । ‘वितरण गरेको तीन दिनपछि मात्रै कुहिएको चामल भन्ने कुरो बाहिर आयो,’ उनले भने, ‘चामल नराम्राे परेकाे ठाउँबाट ल्याएर राम्रो चामल दिनेछौँ।’
वडाले पहिलो चरणमा गरिब, विपन्न एवं दैनिक ज्यालादारी गरी गुजारा चलाउने परिवारका लागि प्रतिपरिवार १० किलो चामल, एक किलो दाल, एक किलो नुन, एक लिटर तेल, साबुन, मसलालगायतको सामग्री वितरण गरेको छ।
भीमदत्त नगरपालिकाले विपन्न समुदायलाई राहत वितरणका लागि ५० हजार रुपैयाँको चामल खरिद गरेको थियो। केही सहयोगीबाट पनि चामल प्राप्त भएको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले नगरपालिकाले खरिद गरेको र केही दाताबाट आएको चामल वितरण गरिएको बताए।
‘हामीलाई दाताबाट पनि चामल सहयोग आएको थियो,’ उनले भने, ‘सहयोग आएकोसहित हामीले पनि खरिद गरेर चामल वितरण गरेका हौँ। केही बोरामा मात्रै कुहिएको चामल भेटिएको छ।’ नयाँ पत्रिकामा यो समाचार छ