चीनमा कोरोना अस्पताल बन्द, अमेरिकामा २८ हजार बढीको मृत्यु
एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्या विश्वभर २० लाख नाघेको छ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार विश्वभर यो भाइरसबाट २० लाख ६० हजारभन्दा बढी संक्रमित छन् भने मृतकको संख्या १ लाख ३४ हजार नाघेको छ।
सबैभन्दा बढी संक्रमित अमेरिकामा छन्। त्यहाँ ६ लाख ३७ हजारभन्दा बढी संक्रमित छन् भने मृतकको संख्या २८ हजार नाघेको छ।
अमेरिकापछि सबैभन्दा बढी प्रभावित युरोपेली मुलुक इटाली छ। त्यहाँ २१ हजारभन्दा बढीको मृत्यु भएको छ भने १ लाख ६५ हजारभन्दा बढी संक्रमित छन्।
युरोपकै अर्को देश स्पेन तेस्रो प्रभावितमा पर्छ। त्यहाँ झन्डै १९ हजारको ज्यान गएको छ भने एक लाख ८० हजारभन्दा बढी संक्रमित छन्।
उता, बेलायतमा पनि मृतकको संख्या १२ हजार नाघेको छ। करिब १ लाख संक्रमित छन् त्यहाँ।
भारतमा संक्रमितको संख्या १२ हजार पुगेको छ। हिजो रातिसम्ममा त्यहाँ ३९२ जनाको मृत्यु भइसकेको छ।
चीनले कोरोना भाइरसका बिरामीका लागि खोलेको अस्पताल बन्द गरेको छ। त्यहाँ कोरोना भाइरस लगभग नियन्त्रणमा आइसकेको छ।
चीनको वुहानमा कोरोना संक्रमितको उपचारका लागि रातारात अस्पताल बनाइएको थियो।