ट्रम्पले भने: कोरोनाको उच्च तह पार भयो, अब सबै सामान्य बन्छ - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

ट्रम्पले भने: कोरोनाको उच्च तह पार भयो, अब सबै सामान्य बन्छ



काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस महामारीको उच्च तह पार गरेको दाबी गरेका छन्।

महामारीका कारण सिर्जित संकटको माथिल्लो तह अमेरिकाले देखिसकेकाले केही राज्यहरु यहि महिना (अप्रिल) मै खुला हुने दाबी पनि उनले गरेका छन् । कोरोना भाइरसको महामारी फैलिएका कारण अमेरिकाका अधिकांश राज्य अहिले लकडाउनको अवस्थामा छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको बुधबारको ब्रिफिङ्गमा ट्रम्पले बजार तथा सार्वजनिक गतिविधि पुनः सञ्चालन गर्ने सम्बन्धी नयाँ निर्देशन बिहीबार जारी हुने ट्रम्पले बताएका छन् । त्यसअघि राज्यका गभर्नरसँग आफूले कुरा गर्ने ट्रम्पले उल्लेख गरे ।

ट्रम्पले भनेका छन्, ‘हामी चाँडै फर्किँदै छौँ, हामी सबै । हामी हाम्रो देशलाई पुनः सामान्य अवस्थामा ल्याउन चाहन्छौँ ।’

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म कोभिड–१९ बाट २८ हजार ३६४ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या ६ लाख ३७ हजार भन्दा बढी पुगेको छ ।

ट्रम्पले बुधबारको ब्रिफिङ्गमा भने, ‘तथ्यांकहरुले यो बताइरहेका छन् कि हामीले देशभर नै महामारीको उच्च तह पार गरिसकेका छौँ । नयाँ संक्रमणको उच्च तहबाट हामी गुज्रिसकेका छौँ । आशा छ यो क्रम जारी रहने छ र हामीले महामारीविरुद्ध राम्रो प्रगति जारी राख्ने छौँ ।’

अहिलेसम्म ३२ लाख भन्दा बढी अमेरिकीमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण गरिएको ट्रम्पले दाबी गरे । यी सबै तथ्यहरुले केही राज्यहरु चाँडै नै सामान्यत अवस्थामा फर्काउन मिल्ने देखिएको उनको भनाई छ ।

ट्रम्प प्रशासनले आउँदो मे १ मा लकडाउन अन्त्य गर्ने तयारी गरेको थियो, तर केही राज्यहरु त्यो भन्दा अघि नै खुल्न सक्ने बुधबार ट्रम्पले बताएका हुन् ।