धारचुलामा अलपत्र १५ सय नेपाली ल्याउन स्थानीयस्तरमा सहमति, केन्द्रले दिएन निर्णय - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

धारचुलामा अलपत्र १५ सय नेपाली ल्याउन स्थानीयस्तरमा सहमति, केन्द्रले दिएन निर्णय



गोकर्ण दयाल, बैतडी

भारतबाट घर फर्किन सीमा पारि झुलाघाट नाकामा आईपुगेका नेपालीलाई स्वदेश ल्याउने निर्णय भएको छ ।

सीमा नाकामा रहेका नेपालीलाई स्वदेश ल्याउन बुधबार बैतडीका प्रमुख जिल्ला अधिकारी एवं कोभिड –१९, सङ्कट व्यवस्थापन समितिका अध्यक्ष आनन्द पौडेलको अध्यक्षता बसेको बैठकले निर्णय गरेको हो ।

बैठकले भारतबाट घर फर्किन सीमा नाकामा आईपुगेका नेपालीलाई स्वदेश ल्याएर सुरक्षित क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेकजाँचका सबै प्रक्रिया पूरा गर्ने निर्णय समेत गरेको छ ।

झुलाघाट र धारचुलामा रहेका करिब एक हजार पाँचसय नेपाली सीमा नाकामा रोकिएका छन् । ती मध्ये बैतडीका मात्रै एक हजार ९४ जना रहेका छन् । झुलाघाटमा २४९, पिथौरागढमा २४५ र दार्चुलामा छसय गरि बैतडीका मात्र एकहजार ९४ जना रहेका छन् ।

दार्चुलामा रहेकाहरुको दार्चुलामै र झुलाघाट र पिथौरागढमा रहेकाहरुको बैतडीमा सुरक्षित क्वारेन्टाइनमा व्यवस्थापन हुने सङ्कट व्यवस्थापन समितिले निर्णय गरेको समितिमा अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

गोरखापत्रका अनुसार सीमामा रहेका नेपालीलाई जिल्ला स्तरमै राख्न क्वारेन्टाइन निर्माणको काम सुरु भएको र नेपाल सरकारले अनुमति दिने बित्तिकै शनिबार वा आईतारसम्म स्वदेश ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रजिअ पौडेलले भने, “स्थानीय तहका प्रमुखसहितको बैठकले सीमा नाकाबाट ल्याउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने छ । सीमामा रहेका नेपाली लामोसमयदेखि भारतीय क्वारेन्टाइनमै हुनुहुन्छ तर, स्वदेश ल्याईसकेपछि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार क्वारेन्टाइनमा राखेर पर्याप्त चेकजाँच गरेपछि मात्र स्थानीय तहमा पठाउने निर्णय भएको छ ।”

बैठकले जिल्लामा आवश्यक पर्ने खाद्यान्न आपूर्ति, पालिकामा रहेका क्वारेन्टाइनमा आवश्यक साधन श्रोत उपलब्ध गराउने समेत निर्णय गरेको छ ।