प्रधानमन्त्री ओलीसँग पूर्व प्रधानमन्त्रीहरूले आँखा जुधाएर कुरा गर्न सक्दैनन्: विष्णु रिमाल
काठमाडौं- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकाले लकडाउनलाई झन् कडाइ गर्ने जनाएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिमालले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउनलाई प्राथमिकता दिएको बताए । उनले काठमाडौं उपत्यकाको संक्रमणको अवस्था पूर्ण रुपले पत्ता नलागेसम्म सरकारले कसैलाई पनि उपत्यका छाड्न नदिने बताए ।
उनले उपत्यकामा रहेका न्यून आय भएका र असंगठित मजदुरहरूलाई सरकारले खाने बस्ने व्यवस्था मिलाउने बताए । प्रमुख राजनीतिक सल्लाहकार रिमालले राहतमा अनियमितता भएको पाइए कारवाही हुने चेतावनी दिएका छन् ।
उनले अहिले उपत्यकाको अवस्था पनि अनिश्तिच भएको भन्दै लकडाउनमा परेका सबैको उचित व्यवस्था गर्ने बताए ।
‘जो जाहाँ भएपनि राहत वितरण र उनीहरूको रेखदेखको काम स्थानीय तहले गरिरहेको छ’, उनले भने, ‘सबै स्थानीय तहमा रकम छुटाइएको छ । राहत घरघरमा पनि पठाउने व्यवस्था गरिएको छ ।’
‘किन्न सक्नेहरूका लागि होम डेलिभरीको व्यवस्था गरेका छौँ’, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने, ‘कुहिएको चामल वितरण गर्नेलाई कारवाही गरिनेछ । यस्तो अपराध गर्नेलाई सरकारले छाड्दैन ।’
प्रधानमन्त्री ओलीले सञ्चारकर्मीलाई कथा सुनाएको नभई सबै सूचना एकद्वार प्रधाणालीबाट गर्न निर्देशन दिएको सल्लाहकार रिमालले बताए ।
उनले भने, ‘पत्रकारहरूबाट टाढा बस्नु भनेको हैन, अनावस्यक हल्ला फलियो सूचनाको स्रोत एकठाँउबाट मात्रै जाओस् भन्ने प्रधानमन्त्रीको चाहना हो ।’
प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने, ‘मन्त्रिपरिषद् र सचिवलायलाई भन्नुभएको हो । प्रधानमन्त्रीको विषयमा प्रेस सल्लाकारसंग सोध्नु ।’
रिमालले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा कुनै पनि अनियमितता नभएको प्रधानमन्त्रीले बताए उल्लेख गरे ।
‘प्रधानमन्त्रीले भनेको कुरा सहि हुन् । स्वास्थ्य सामग्रीमा अहिले भ्रष्टाचार भएको छैन’, उनले भने, ‘स्वास्थ्य सामग्री खरिद स्वास्थ्य सेवा विभागका महानिर्देशको जिम्ममा भएको हो । अनियमितता भएको छैन ।’
भ्रष्टाचार र अनियमितता नभएको दाबी गर्दै सल्लाहकार रिमालले प्रधानमन्त्री ओलीसँग पूर्व प्रधानमन्त्रीहरूले आँखा जुधाएर कुरा गर्ने आँट राख्न नसक्ने बताए ।