जब सङ्क्रमण देखिएका युवा आफै मोटरसाइकल चलाएर अस्पताल पुगे - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

जब सङ्क्रमण देखिएका युवा आफै मोटरसाइकल चलाएर अस्पताल पुगे



धादिङ- र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किटबाट कोभिड १९ परीक्षण गर्दा पोजेटिभ देखिएका धादिङ ज्वालामुखीका २७ बर्से युवकलाई धादिङ अस्पतालमा रहेको कोरोना विशेष क्लिनिकमा भर्ना गरिएको छ।

ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौकीमा मंगलबार भारतलगायत तेश्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसिरहेकाको आरडिटी किटबाट कोरोना भाइरस परीक्षण गरिएको थियो।

त्यसक्रममा ती युवाको रिपोर्ट पोजेटिभ देखिएको हो। गत फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्किएका उनी फागुन २१ गते घर फर्किएका थिए। घर आएपछि उनी होम क्वारेन्टाइनमा बसेका थिए।

परीक्षणमा रिपोर्ट पोजेटिभ पाइएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याउन दिनभर एम्बुलेन्स खोजिए पनि नपाइएपछि राति उनी आफैं मोटरसाइकल चलाएर जिल्ला अस्पताल पुगेका आफन्तहरुल्े बताएका छन्।

राती १० बजे जिल्ला अस्पतालको कोरोना विशेष क्लिनिकमा भर्ना गरिएका ती युवाको स्वास्थ्य परीक्षण र हेरचाहका लागि स्वास्थ्यकर्मीहरुको विशेष टोली परिचालन गरिएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए।

आरडीटी रिपोर्टका आधारमा कसैलाई पनि कोरोना भएको ठोकुवा गर्न नसकिने भएकाले आधिकारिक निकायबाट पिसिआर परीक्षण रिपोर्ट सार्वजनिक नभएसम्म जिल्लावासी कोही पनि आतंकित नभई सचेत भएर सुरक्षितका साथ घरभित्रै बसिदिन स्वास्थ्य कार्यालय धादिङले आग्रह गरेको छ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार ती युवाको स्वास्थ्य अवस्था सामान्य छ। अहिले उनमा कुनै पनि समस्या देखिएको छैन।

पिसिआर टेस्टका लागि उनको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने तयारी भइरहेको छ।

ज्वालामुखीका ती युवा र उनको सम्पर्कमा रहेका सबै व्यक्तिको तत्काल पहिचान गरी उनीहरुको पनि आरडिटी परीक्षण गर्ने तयारी भइरहेको छ।