पाकिस्तानी क्रिकेटर सर्फराजको कोरोनाले ज्यान लियो - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

पाकिस्तानी क्रिकेटर सर्फराजको कोरोनाले ज्यान लियो



एजेन्सी- पाकिस्तानी प्रथम श्रेणी क्रिकेटर जाफर सर्फराजको कोरोनाका कारण मृत्यु भएको छ। सर्फराजको परिवारले उनको मृत्युको बारेमा आज पुष्टि गरेका छन्।

कोरोना भाइरसको कारण मृत्यु हुने सर्फराज पहिलो पाकिस्तानी व्यावसायिक खेलाडी हुन्। ५० वर्षीय उनी यस महिनाको सुरुमै बिरामी परेका थिए। उनलाई पेशेवरको अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो।

सोमबार उनको निधन भएको हो। सरफराजमा १० दिनअघि कोरोना भाइरसको लक्षण देखा परेको थियो। बाँया हाते मध्यक्रमका ब्याट्समेन सर्फराजले पेशेवरबाट १५ प्रथम श्रेणीको क्रिकेट खेलेका थिए। जसमा ४ अर्धशतकसहित ६ सय १६ रन बनाएका थिए।

सन् १९९४ बाट उनले संन्यास लिनुअघि ६ एकदिवसीय खेलमा ९६ रन बनाएका थिए। त्यसपछि उनले पेसेवरको सिनियर यु १० टोलीलाई सन २००० को मध्यमा प्रशिक्षण दिएका थिए।

पेशेवरका क्षेत्रीय प्रशिक्षक अब्दुल रहमानले भने, ‘सर्फराज एकदम राम्रो मानिस र अत्यन्त नम्र व्यक्ति थिए। उनले पेशेवरका लागि धेरै खेल खेलेनन् तर क्रिकेटरहरू माझ उनी लोकप्रिय थिए।’

१० महिनाअघि मात्र जाफरका भाई अख्तर सर्फराजको क्यान्सरको कारण निधन भएको थियो। अख्तरले डिसेम्बर १९९७ देखि अक्टोबर १९९८ को बीचमा पाकिस्तान टिमबाट ४ एकदिवसीय क्रिकेट खेल्दै ६६ रन बनाएका थिए।

पाकिस्तानमा ५ हजार ५ सय ३७ वटा कोरोना भाइरसका घटनाहरु दर्ता गरिएका छन्। जसमा मृत्यु हुनेको संख्या ९६ जना पुगेको छ।