भ्याक्सिन बिना नियन्त्रणमा आउँदैन कोरोना भाइरस: डब्लुएचओ
काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खोप बिना कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न नसकिने बताएका छन् ।
डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिएका हुन् ।
टेड्रोसले सन् २००९ को स्वाइन फ्लूको तुलनामा कोरोनाभाइरस थप घातक भएको पनि बताए । उनले भने, ‘हामीलाई राम्रोसँग थाहा छ कि कोभिड–१९ तीब्र रुपमा फैलिरहेको छ । हामीलाई यो पनि थाहा छ कि यो सन् २००९ को स्वाइन फ्लूभन्दा १० गुणा बढी खतरनाक छ ।’
सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित बुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ ।
कोरोनाबाट झण्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख बढीको ज्यान गइसकेको छ । तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन ।