भीआईपीका सुरक्षाकर्मी फिर्ता बोलाएर सीमामा खटाउन निर्देशन
काठमाडौं -कोरोना भाइरस संक्रमणको त्रास भइरहेको बेला भारतीय सिमानामा बढेको थ्रेटका कारण सरकारले भीआईपीको सुरक्षामा खटिएका अनावस्यक सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएर सीमानामा खटाउने भएको छ ।
सीमानाबाट लुकिछिपी मानिसहरु आएको जानकारी पछि सरकारले नेपाल विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका प्रहरी र सशस्त्र प्रहरीलाई बोलाएर सीमानामा पठाउने भएको हो ।
त्यसका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बोलाएर सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिइसकेका छन् ।
जसअनुसार सशस्त्र प्रहरी बलले विशिष्ट सुरक्षा कार्यविधि विपरित खटिएका सुरक्षाकर्मीको तथ्यांक संकलन थालिसकेको स्रोतले बतायो । नेपाल प्रहरीले पनि आवश्यक गृहकार्य गरिरहेको बताइएको छ ।
हाल कम्तिमा दुई हजार सुरक्षाकर्मी विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन् । कतिपय विशिष्ट व्यक्तिले मन्त्रिपरिषदबाटै निर्णय गराएर कार्यविधि विपरित सुरक्षाकर्मी राखेका छन् । उनीहरुको हकमा मन्त्रिपरिषदबाटै निर्णय गरेर कटौती गरिने बादलले बताएका छन् ।
‘आवश्यकता मूल्यांकन गरेर जति सक्दो कटौती गरेर सीमामा पठाउनुस्’, बादलले दुवै सुरक्षा संगठनका प्रमुखलाई भनेका छन् ।
यस्तै बादलले पहाडी तथा हिमाली क्षेत्रमा रहेका सशस्त्र प्रहरीका कर्मचारीलाई पनि सीमामा खटाउन निर्देशन दिएको गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले बताए ।
उनका अनुसार अत्यावस्यक बाहेकका सुरक्षाकर्मीलाई सीमामा परिचालन गर्न भन्दै गृहसचिव महेश्वर न्यौपानेमार्फत बादलले सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।