लकडउान उल्लंघन गरेको भन्दै प्रहरीले कुट्दा वृद्धाको ज्यान गयो: सप्तरी तनावग्रस्त

सप्तरी- लकडउान उल्लंघन गरेको भन्दै प्रहरीले गरेको लाठी प्रहारबाट एक वृद्धा महिलाको ज्यान गएपछि सप्तरीमा तनाव बढेको छ ।
सप्तरीको वीरपुरमा सोमबार लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीले लाठी प्रहार गर्ने क्रममा तनाब बढेपछि त्यहाँ पुगेकी महिला समेतमाथि प्रहरीबाट कुटपिट हुँदा एक वृद्धाको ज्यान गएको स्थानीयले बताएका छन् ।
करिब ११ बजे खड्क नगरपालिका–६ स्थित वीरपुरमा घर बाहिर निस्किएका युवामाथि प्रहरीले लाठी प्रहार गरेको थियो । प्रहरीले लाठी प्रहार गरेपछि त्यसो नगर्न भन्दै गएकी ६५ वर्षीया जैनव खाँतुनलाई समेत प्रहरीले लाठी प्रहार हानेको थियो ।
प्रहरीको लाठी प्रहारकै कारण उनको ज्यान गएको वडाध्यक्ष भगवतीप्रसाद चौधरीले जानकारी दिएका छन् ।
यता सप्तरी प्रहरीले भने उच्च रक्तचाप समस्याका कारण वृद्धाको मृत्यु भएको दावी गरेको छ । घटनास्थलमा ढलेकी वृद्धालाई एडभान्स अस्पताल कल्याणपुरमा लगिए पनि त्यहाँ उपचार हुन नसक्ने भन्दै सगरमाथा अञ्चल अस्पताल राजबिराज रेफर गरिएको थियो ।
११ः५० बजे उपचारका क्रममा वृद्धाको मृत्यु भएको प्रहरीको दाबी छ । शव सगरमाथा अंचल अस्पताल राजबिराजमा राखिएको छ । बृद्धाको मृत्युपछि स्थानीय र प्रहरीबीच तनाब बढेको छ ।
स्थानीयले प्रहरीको गाडी नियन्त्रणमा लिएका छन् । प्रहरीको कुटाईबाट वृद्धाको मृत्यु भएको भन्दै स्थानीयले अहिले त्यहाँ नारावाजी तथा विरोध गरिरहेको वडाध्यक्ष चौधरीले जानकारी दिएका छन् ।
उनका अनुसार प्रहरी र स्थानीय जनप्रतिनिधि र मृतकका आफन्तबीच छलफल भइरहेको छ । फाइल तस्बिर

