विरगन्जमा चिया बेच्थिन कैलालीकी संक्रमित महिला, उनिसंगै गाडीमा थिए ३५ जना
विशाल पाण्डेय/कैलाली
कैलालीमा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका- १ भुरुवाकी ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
उनी विरगन्ज नाकामा लामो समयदेखि चिया बेच्ने गरेको खुलेको छ । उनिसंगै उनका परिवार सदस्य पनि विरगंज नाकामा व्यवसाय गर्दै आइरहेका थिए ।
संक्रमित महिला सहित परिवारका अन्य १६ जना सदस्यहरु १७ गते घर कैलाली पुगेको र सबैको आग्रहमा चैत्र १८ गते देखि क्वारेन्टाईनमा राखिएको लम्की चुहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष जनक बमले हिमाल पोस्टलाई जानकारी दिए । उनी सहित उनको परिवारको र्यापिङ टेस्टमा नेगेटिभ आएपछि चैत २९ गते साझ घर फर्काइएको अध्यक्ष बमले जानकारी दिए ।
क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेष्ट किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइयो । तर, पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको लम्की चुहा अस्पतालका प्रमुख प्रकाश तिमिल्सेनाले जानकारी दिए । उनले थप परिक्षणको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको र संक्रमित भए स्वास्थ्य मन्त्रालय विज्ञप्ति निकाल्ने तिमिल्सेनाले जानकारी दिए ।
कोरोना पोजेटिभ देखिएपछि टीकापुर अस्पतालको एम्बुलेन्स मार्फत उनलाई सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको छ । कोरोना संक्रमण पोजेटिभ भेटिएकी महिलाको घरपरिवारका १६ जना अन्य सदस्यहरुलाई पुनः लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १३ पुगेको छ ।
संक्रमित महिलासंगै अन्य ३५ जना सवार
संक्रमित ६० वर्षीया कोरोना पोजेटिभ महिला संग पर्साको बिरगञ्ज बाट चैत्र १७ गते कैलाली पुगेका लम्की चुहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष जनक बमले जानकारी दिए । उनले संक्रमित महिला संगै परिवारका अन्य सदस्य सहित ३५ जना १६ गते जिल्ला प्रशासनको कार्यालय पर्साबाट पास लिइ कैलाली पुगेको बताए ।
चैत १७ गते संक्रमित महिलासंगै एउटै गाडीमा आएका बिभिन्न जिल्लाका अन्य ३५ जनाको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । वीरगन्जमा सामान्य व्यापार गदै आएकी महिलालाई घर फर्किएपछि लम्कीचुहा बहुमुखि क्याम्पसको क्वारेन्टाईनमा राखिएको थियो ।
संक्रमित महिला संग बिरगञ्ज देखि कैलाली सम्म एउटै सवार ३५ जनाको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।