पछिल्ला तीन सङ्क्रमित नेपालका ६ जिल्लामा पुगेको खुलासा - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

पछिल्ला तीन सङ्क्रमित नेपालका ६ जिल्लामा पुगेको खुलासा



काठमाडौं- नेपालको पूर्वी जिल्लामा तीन जना संक्रमित थपिँदा जनमानसमा थप त्रास उत्पन्न भएको छ ।

नेपालमा कोरोना सङ्क्रमितको संख्या १२ पुगेको छ भने यसअघि अघिल्ला केहि संक्रमितहरू अस्पतालबाट डिस्चार्ज हुने क्रममा छन् ।

पछिल्लो समय वीरगन्जमा फेला परेका र संक्रमण देखिएका तीन जना भारतीय नागरिक हुन्। तीन जना संक्रमितहरु ३७,४४ र ५५ वर्षको उमेर रहेका छन् ।

उनीहरू मध्य एक जना दिल्ली र दुई जना उत्तर प्रदेशका बासिन्दा रहेको खुलेको छ। उनीहरू लामो समयदेखि मस्जिदमा बस्दै आएको खुलेको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर २ को छपकैयामा रहेको मस्जिद र यतिम खानामा २१ जना जमातीमा सहभागी भारतीय मुस्लिमहरुलाई राखिएको थियो।

दिल्ली र यूपीबाट अढाई महिनाअघि नेपाल प्रवेश गरेका भनिएका उनीहरु दुई सातादेखि वीरगंजको छपकैयाको मस्जिदमा रहँदै आएका थिए। उनीहरु चैत १३ गते वीरगंज आइपुगेका थिए।

फेब्रुअरी १५ देखि १६ सम्म आयोजित ईस्तमामा सहभागी हुन् उनीहरु आएका थिए। सप्तरीमा मुस्लिम धर्मावलम्बीहरुको धार्मिक सम्मेलन ईस्तमामा सहभागी हुन नेपाल आएका उनीहरुले सिरहा,धनुषा,महोत्तरी,सर्लाही,रौतहट,बाराको यात्रा गरेको देखिन्छ। त्यसपछि वीरगंजको छपकैयामा रहेको जामे मस्जिदमा पुगेका हुन्।

सङ्क्रमणको शंका लागेपछि बिहीवार राति ८ बजे उनीहरुको स्वाब संकलन गरिएको थियो।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडाको ल्याबमा उनीहरुको स्वाब परीक्षण गरिएको थियो । उक्त परिक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा शनिबार पुन: परीक्षण गरिएको हो।

हाल उनीहरुलाई नारायणी अस्पताल, वीरगंजमा आइसोलेसनमा राखिएको छ।